काठमाडौं । गत एक महिनामा अनलाइन सेयर कारोबारका लागि करिब ६० हजार लगानीकर्ता थपिएका छन् । कोभिड–१९ को जोखिम बढेसँगै सर्वसाधारणलाई हिँडडुलमा अवरोध भएको, लगानीका अन्य क्षेत्र सञ्चालन हुन नसकेको, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन कारोबारका लागि प्रोत्साहन गरेकोलगायत कारण अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिने संख्या बढेको नेप्सेले जनाएको छ ।

गत शुक्रबारसम्म करिब १ लाख २० हजार ५ सय जनाले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका छन् । गत भदौ दोस्रो साता यस्तो संख्या ६४ हजार ६ सय १६ थियो । शुक्रबारयता पनि खोलिएका एकाउन्ट जोड्दा बुधबारसम्म अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या करिब १ लाख १२ हजार पुगेको हुन सक्ने नेप्सेले जनाएको छ । गत साउन र भदौमा करिब ४० हजार लगानीकर्ताले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका थिए । लकडाउन सुरु हुनुअघि (गत चैत ११ अघि) यस्तो संख्या करिब २६ हजार ६ सय मात्र थियो । यो तथ्यांकले पछिल्लो ६ महिनामा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या करिब १ लाख बढेको देखिन्छ ।

सरकारले लकडाउन सुरु गरेपछिका पाँच महिनामध्ये करिब ३ महिना बजार बन्द नै रह्यो । कोभिडको जोखिमले हिँडडुलमा अवरोध हुनुका साथै अनलाइन कारोबार सजिलो र झन्झटरहित भएकाले ‘युजर नेम र पासवर्ड’ लिनेको संख्या बढेको नेप्सेले जनाएको छ । लकडाउनका कारण अर्थतन्त्रका अन्य क्षेत्र सञ्चालन हुन नसकेकाले धेरै उद्योगी व्यवसायीले पनि सेयर बजारमा लगानी बढाएको ब्रोकरहरू बताउँछन् । पछिल्लो समयमा ‘युजर नेम र पासवर्ड’ लिनेमा धेरै उद्योगी व्यवसायी भएको उनीहरूको भनाइ छ ।

पुँजी बजारको इतिहासमा करिब साढे २ दशकपछि नेप्सेले ०७५ कात्तिक २० देखि पूर्ण स्वचालित विद्युतीय कारोबार सुरु गरेको थियो । विद्युतीय कारोबार सुरु भएको पनि झन्डै दुई वर्ष पुगिसकेको छ । अनलाइन कारोबार सुरु हुँदाताका लगइन लिने लगानीकर्ता संख्या न्यून थियो । गत चैत ६ गतेसम्म लगइन लिएको संख्या २६ हजार ६ सय मात्र थियो । अनलाइन कारोबार सबैका लागि नयाँ भएको, नेप्सेको कारोबार प्रणालीमा पटक–पटक समस्या देखिएको, लगानीकर्ता प्रविधिमा बानी नपरेकोलगायत कारण सुरुमा थोरैले मात्र लगइन लिएको एक धितोपत्र ब्रोकरले बताए । ‘अनलाइन कारोबारका लागि लगइन लिनेमा सरकारी तथा निजी क्षेत्रका कर्मचारी, शिक्षक, चार्टर्ड एकाउन्टेन्टलगायत वाणिज्य तथा व्यावसायिक क्षेत्रका धेरै छन्,’ ती ब्रोकरले भने ।

पुँजीबजारमा करिब १८ लाख लगानीकर्ता आबद्ध रहेको विभिन्न सरकारी निकायले बताउँदै आएका छन् । तर दोस्रो बजारमा कारोबारका लागि योग्य लगानीकर्ता साढे ३ लाखभन्दा कम नै रहेको नेप्सेको तथ्यांक छ । नेप्सेका अनुसार गत शुक्रबारसम्म दोस्रो बजारमा कारोबारका लागि योग्य लगानीकर्ताको संख्या करिब ३ लाख ३७ हजार ३ सय ६० छ । गत भदौ दोस्रो साता यो संख्या २ लाख ८८ हजार र गत चैत ६ मा यस्तो संख्या २ लाख ३१ हजार थियो । यो नियामक निकायको निर्देशनअनुसार हरेक वर्ष ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गरेको लगानीकर्ता संख्या हो । तीमध्ये पनि दैनिक रूपमा सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या कम छ ।

पछिल्लो समय नेप्सेले धितोपत्र ब्रोकरहरूलाई अनलाइनमार्फत (कनेक्ट आईपीएस) भुक्तानी गर्न भनेको छ । ब्रोकरहरूले पनि सेयर खरिदमा भुक्तानी गर्दा अनिवार्य विद्युतीय माध्यम (कनेक्ट आईपीएस) बाट गर्न उसको आग्रह छ । राष्ट्र बैंकले पनि सेयर कारोबारका लागि कनेक्ट आईपीएसमा दैनिक र मासिक कारोबारको सीमा नलाग्ने नीतिगत व्यवस्था गरेको छ । उल्लिखित व्यवस्थाले सेयर कारोबारमा विद्युतीय माध्यमको भुक्तानी बढेको बताइएको छ ।

यही क्रममा नेप्सेले अनलाइनबाट केवाईसी अद्यावधिक गर्न, अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिन सुविधा दिएको छ । यसबाट बढीभन्दा बढी प्रयोगकर्ता अनलाइन कारोबारमा सहभागी हुन सक्ने नेप्सेको दाबी छ ।आजको कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय