हाम्रो जनकपुर /सर्लाही । सर्लाहीका विभिन्न स्थानमा शुक्रबार साँझ र राती भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

लालबन्दी नगरपालिका–१७, रानीगंज स्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा मोटरसाईकलबीच ठक्कर खाँदा एक मोटरसाईकल चालकको मृत्यु भएको हो । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना. २३ प १६६३ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्ने क्रममा सोही दिशामा जाँदै गरेको प्रदेश नं. १–०२–०४१ प ४४८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा ४४८५ नम्बर मोटरसाईकल चालक महोतरीको बर्दिबास नगरपालिका–१, किसनपुर निवासी १७ वर्षीय सरोज साहको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाईते साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्दागर्दै शुक्रबारसाँझ मृत्यु भएको हो ।

सोही मोटरसाईकलको पछाडि बसेका बर्दीबास ९ निवासी १७ वर्षीय नविन साह घाईते भएका छन् । त्यस्तै ठक्कर दिने १६६३ नम्बर मोटरसाईकल चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ निवासी ३५ वर्षीय दिनेश राय र सोही मोटरसाईकलमा पछाडी सवार ईश्वरपुर निवासी २६ वर्षीय कृष्ण यादव सामान्य घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल नियन्त्रणमा राखेर आवश्यक कार्बाही प्रकृया अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै शुक्रबार राती साँढे ८ बजे मलंगवा नगरपालिका–१० मलंगवा–भेल्ही भित्री सडकखण्डमा आफै अनियन्त्रित भई मोटरसाईकल पल्टिँदा चालक मलंगवा–९ निवासी २० वर्षीय अबधेश शर्मा र सोही ठाउँ निवासी २२ वर्षीय गौतम शर्मा गम्भिर घाईते भएका छन् । भारतीय BR30Y 2213 नम्बरको मोटरसाईकल पल्टँदा गम्भीर घाइते दुवैजनालाई जिल्ला अस्पतालमा उपचार पश्चात थप उपचारका लागि वीरगंज पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी हिजै साँझ हरिपुर्वा नगरपालिका–९, बसतपुर स्थित भित्री सडकखण्डमा श्रीनगरबाट हरिपुर्वातर्फ जाँदै गरेको भारतीय BR30E 3373 नम्बरको मोटरसाईकलले विपरित दिशाबाट आएको साईकललाई ठक्कर दिँदा साईकल चालक हरिपुर्वा नगरपालिका–७ निवासी नवल किशोर मण्डलको छोरा ११ वर्षीय सन्तोष कुमार मण्डल तथा साईकल पछाडि सवार स्थानीय दशरथ मण्डलको छोरा १२ वर्षीय अमरजित मण्डल घाईते भएका छन् । मोटरसाईकल चालक हरिपूर्वा–९ निवासी अनिरुद्र राय यादबका छोरा २४ वर्षीय अनिल यादबको पनि दुबै हातमा चोट लागेको प्रहरीले जनाएको छ । घाईते तिनै जनाको जनकपुर स्थित अन्नपूर्ण मेडिकलमा उपचार भई रहेको र मोटरसाईकल तथा साईकल नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै बरहथवा नगरपालिका–७ स्थित बरहथवाबाट हिरापुरतर्फ जाँदै गरेको प्र.नं.२–०३–००४ प ४८८० नम्बरको स्कुटीले रोकी राखेको ना. ३७ प १९९९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा
स्कुटी चालक बरहथवा नगरपालिका–५ निवासी अरबिन्द्र कुमार सिंहको छोरा १८ वर्षीय अमित सिंह, १९९९ नम्बर मोटरसाईकलका चालक बरहथवा–५ निवासी २७ वर्षीय जय नारायण दास घाइते भएका छन् ।
सामान्य घाईते सिंहको बरहथवास्थित एडभान्स संजिवनी अस्पतालमा उपचार भईरहेको र कुमको हाँड भाँचिएका कारण दासलाई भने उपचारका लागि काठमाडौंतर्फ पठाईएको प्रहरीले जनाएको छ । दुवै सवारीसाधन नियन्त्रणमा राखेर कार्बाही प्रकृया अगाडी बढाईएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय