रेल त आयो, संचालन कहिलेदेखि ? यसो भन्छन् रेल्वे अधिकारी

हाम्रो जनकपुर / जनकपुरधाम । जनकपुर देखि जयनगर रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडले १२९ पदमा कर्मचारी माग गरेका थियो । तर ३२ हजार मानिसले जागिरका लागि फारम भरेका छन् ।

जागिरका लागि फारम भर्ने अन्तिम म्याद १२ असोजसम्म थियो । सो समयभित्र करिब ३२ हजारले फारम भरेको कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानकारी दिए । कुन पदमा कति जनाले फारम भरेका छन् भन्ने छुट्याउने काम भइरहेको उनले बताए ।

स्टेसन मास्टर, लेखा, प्रशासन, सुरक्षागार्डलगायतका २९ वटा पदमा एक सय २९ जना कर्मचारी माग गरिएको छ । जागिरका लागि फारम भरेका ३२ हजारमध्ये पहिलो चरणमा शैक्षिक योग्यता, अनुभवलगायतका आधारमा उपयुक्त उम्मेदवारको सूची सार्वजनिक गरिने बताइएको छ ।

महाप्रबन्धक भट्टराईले मौखिक परीक्षापश्चात् उत्कृष्ट आवश्यक एक सय २९ जनालाई तत्काल नै नियुक्ति दिने जानकारी दिए । उनले भने, ‘रेल आइसकेको छ । त्यसैले तत्कालै कर्मचारी नियुक्त गरी कुनै पनि हालतमा रेल सञ्चालन गर्ने तयारीमा छौं ।’

‘रेल चल्दैन भनेर नसोच्नुस्’, उनले भने, ‘रेल कुनै पनि हालतमा सञ्चालन हुन्छ । रेल प्रधानमन्त्रीज्यू र आम नेपालीको सपना हो । त्यसकारण रेल सञ्चालन निकट भविष्यमै हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय