हाम्रो जनकपुर / जनकपुरधाम : हरेक वर्ष कुशे औँसीको दिन पर्ने बुबाको मुख हेर्ने दिनको अवसरमा छोरा-छोरीहरू परम्पराअनुसार मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र आफ्ना बुबाको मुख हेर्छन् ।

बुबा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आजको दिन विशेष गरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।

यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेपनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्ण रूपमा सिल गरिएको छ ।

मन्दिर छिर्ने चारवटै नाकामा प्रहरी राखिएको गोकर्णेश्वर नगरपालिका-४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए । यसैगरी रसुवा र नुवाकोट संगमस्थल वेत्रावतीमा लाग्ने मेला पनि यस वर्ष कोरोनाका कारण प्रभावित भएको छ। गोकर्णेश्वर नगरपालिकाले सुरक्षित रूपमा घर घरमै पितृ सम्मान दिवस मनाउन आह्वान गरेको छ ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ ।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ। दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय