लेखक रञ्जन भण्डारी-
सभार टुडेपाटि
महोत्तरी, जेठ १२ गते ।

महोत्तरीमा प्रहरीको गोली लागेर एक किशोरको मृत्यु भएको छ। किशोर लागुऔषध कारोवारी भएको दाबी प्रहरीले गरेको छ।

लागुऔषधध कारोबारीलाई समात्न गएको प्रहरीले गोली चलाउँदा रामगोपालपुर नगरपालिका ७ सहसौलाका सुरेन्द्र यादवका १६ वर्षीय छोरा राजन यादवको मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

खुट्टा र तिघ्रामा गोली लागेर गम्भीर घाईते भएका किशोरको उपचारको क्रममा आइतबार राति ११ बजे जलेश्वर अस्पतालमा मृत्यु भएको हो। मृतक किशोरको शव पोष्ट मार्टमको लागि जलेश्वर अस्पतालमा राखिएको छ।

घटनामा दुईजनालाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा सोही ठाउँका २७ वर्षीय राहुलकुमार यादव र ४५ वर्षीय सुरेन्द्र यादव छन्। सुरेन्द्र मृतक किशोरका बुवा हुन्।

एसपी अधिकारीका अनुसार घटनास्थलमा चारजना लागुऔषध कारोवारी थिए। सुरुमा घटनास्थलमा सादा पोशाकका चार प्रहरी पुगेका थिए। प्रहरी पुगेपछि चार कारोबारीमध्ये एकजना फुत्केर भागेका थिए। फुत्केर भागेका युवाले एकहुल मानिस ल्याएर प्रहरीमाथि आक्रमण गर्न लगाएका एसपी अधिकारीले बताए।

‘ठूलो समूहले सादा पोसाकका प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि जबाफी कारबाही गर्दा किशोरको मृत्यु भएको हो,’ एसपी अधिकारीले भने, ‘घटनामा प्रहरीले ६ राउण्ड गोली चलाएको छ। कारोवारीलाई समात्न र आत्मरक्षाको लागि गोली चलाउनु परेको हो।’

लागुऔषध कारोबारीको आक्रमणबाट चार प्रहरी सख्त घाइते भएका अधिकारीले बताए। घाइते हुनेमा प्रहरी हवल्दार संजीव पासवान तथा जवानहरु मनोज साह, राम विहारी पासवान र लालबावु यादव छन्।

उनीहरुलाई टाउको, हात, छाती तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरु सबैको जलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय