कोरोना संक्रमणबाट निको भएर नारायणी अस्पतालबाट आइतबार साँझ डिस्चार्ज गरिएका चारजना ।

तस्बिर : क्रान्ति शाह।

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालको आइशोलेशनमा उपचाररत ५ मध्ये ४ कोरोना संक्रमितलाई आइतबार साँझ अस्पतालबाट डिस्चार्ज गरिएको छ । अस्पतालमा उपचाररत ५ मध्ये वीरगन्जको मस्जिदमा भेटिएका तीन भारतीय मुस्लिम जमाती र रौतहटका १ युवक गरी ४ जनालाई आइतबार साँझ सवा ५ बजे अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

चार जनाको तेश्रो र चौथो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य भएकाले उनीहरूलाई आइतबार डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ड डा मदन उपाध्यायले बताए ।

उपाध्यायका अनुसार हेटौंडा स्थित प्रादेशिक प्रयोगशालाबाट शनिबार बेलुकी अस्पताललाई प्राप्त चारै जनाको चौथो रिपोर्ट नेगेटिभ आएको हो । यसअघि तेश्रो पीसीआर रिपोर्ट पनि नेगेटिभ नै आएको थियो ।

मेसु उपाध्यायले भने,‘पहिलो र दोश्रो पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो, तर तेश्रो र चौथो पीसीआर रिपोर्ट लगातार नेगेटिभ आएपछि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चार जनालाई नै डिस्चार्ज गरिएको हो ।’

आइतबार डिस्चार्ज गरिएका चारमध्ये रौतहटको इशानाथ नगरपालिका ८ का १९ वर्षीय बच्चु अंसारीलाई उनको आफन्तको जिम्मा लगाएर घर पठाइएको छ ।

भारत उत्तर प्रदेशका ३७ वर्षीय इब्राहिम र ४४ वर्षीय नुर महम्मद तथा दिल्लीका ५५ वर्षीय युसुफलाई भने अस्पतालबाट डिस्चार्ज गरी वीरगन्जकै छपकैयामा रहेको एक घरमा बस्ने गरी पठाइएको नारायणी अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिए ।

‘अहिले लकडाउनमा दुवै देशको सीमा बन्द छ त्यसैले उनीहरूलाई यतिमखाना छेउको खाली रहेको ३ तल्ले घरमा बस्ने गरी पठाइएको हो’, उनले भने ,‘लकडाउन खुलेपछि भारत सरकारको जिम्मा लगाइनेछ ।’

वीरगन्ज २ छपकैया स्थित मस्जिदमा बस्दै आएका २६ भारतीय जमातिमध्ये ३ जनामा चैत ३० मा कोरोनाको संक्रमण पुष्टि भएको थियो । रौतहटका संक्रमित युवक बच्चुलाई भने बैशाख १ गते संक्रमण भएको पुष्टि भएपछि बैशाख २ गते नारायणी अस्पतालमा ल्याइएको थियो ।

सर्लाही धनकौलका १४ वर्षीय बालकलाई भने नारायणी अस्पतालमा उपचारत रहेका गत बिहीबार राति सर्लाहीबाट ल्याएर राखिएको हो । ती बालकको स्वास्थ्य अवस्था पनि अहिले सामान्य रहेको मेसु उपाध्यायले जानकारी दिए ।
copy annapurnapost.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय