धनुषा: सिउँदोको सिन्दुर पुछिएको छ । राता चुरा फुटालिए । श्रीमानको मृत्युले उनी विक्षिप्त छिन् । १८ दिन अघिसम्म उनी रंगिचंगी पहिरनमा थिइन् । उनको साथमा थिए, पति । सजिलो गरी जीन्दगी धान्ने भरोसा चुँडिएको छ । त्यसमाथि कोरोनाको त्रासले उनी झन त्रसित छन् ।

विवाह गरेको ढेड वर्षमै धनुषाको रमदैयाकी १९ वर्षीय अञ्जु महराले पति गुमाएपछि उनको सिउँदो मात्रै पुछिएको छैन, जीवनभरीका शृङ्गार पखालिएको छ । पति वियोगले अञ्जुका आँखा ओभाना छैन । श्रीमान्को पीडामा रहेकी उनलाई लकडाउनले भोकभोकै राखेको छ । कमाएर जीवन चलाउने उनको आम्दानी गर्ने बाटो बन्द भएको छ।

होलीको रमाइलोमा उनका पति इन्द्रजित महरा गाउँकै भट्टीमा घरेलु मदिरा पिएका थिए । विषाक्त मदिराको मात लागेर ओछ्यानमा सुतेका उनी कहिले नउठने गरी सुते । उपचारार्थ धरान लग्दै गर्दा इन्द्रजितको गत फाल्गुण ३० गते मृत्यु भएको थियो ।

रथका दुवै पांग्रा जस्तै थिए, इन्द्रजित र अञ्जु महरा । इन्द्रजितको मृत्युपछि अञ्जु एक्‍लिएकी छिन्। आशा, भरोसा र आत्मबल कमजोर भएको छ । मदिरा पिएर मर्ने रमदैयाका इन्द्रजित एक्ला होइनन्, उनीजस्ता उनकै गाउँमा होलीको पूर्वसन्धयादेखि हालसम्म १५ जना र जनकपुर र अन्य स्थानमामा ६ गरी २१ जनाको ज्यान गएको थियो ।

क्षिरेश्वरनाथ नगरपालिका -२ का वडा अध्यक्ष श्याम किशोर यादवका अनुसार रमदैयाका १५ जना मृत्कमध्ये एक महिला बाहेक सबै पुरुष छन् । उनीहरु सबै विवाहित हुन् । सबैका छोराछोरी र श्रीमती मात्रै छन् । लकडाउनले बाहिर निस्किने अवस्था छैन । घरभित्र खाने अन्न छैन ।

पतिको मृत्युपछि घरव्यवहार, तिर्नुपर्ने ऋणको बोझ तीनै पीडित महिलाको काँधमा परेको छ । त्योसँगै परिवार र समाजबाट हेर्ने कुदृष्टि पनि सँगै छ।पतिको मृत्युपछि बाँकी दिनहरु कति कठिन होलान् भन्नेमा चिन्तित छिन् उनी ।

अञ्जुको आँगनमा पुग्दा सुनशान छ । पतिलाई सम्झेर उनी घरी रुन्थिन त घरी बेहोस् हुन्थिन । नौं महिने छोरी आरुसी उनकै काखमा थिइन् । अबोध बालिका आमा रोएको देखेर उनी पनि रुन्छिन । आमा रोएको बारे उनलाई के थाहा । आमाको आँसु बगेको अनुहार देखेर उनी पनि रोइदिन्थिन् ।

अञ्जुको अनुहार सुनिएको छ । घरमा रासनपानी छैन । चार दिनदेखि उनी खाना पानी खाएकी छैनन् । आमाको दुध खान नपाएर शिशु आरुसी रोइरहेकी छिन् । आरुसी आफ्नो बुवाको माया जीवनमा अब कहिले पाउने छैनन् ।

वैवाहिक जीवनको सुरुवातमै पतिले छाडेर गएपछि अब कसरी बाँकी जीन्दगी बाँच्ने? भन्दै उनी पिरोलिएकी छिन्। विषाक्त रक्सी पिएर पतिको अकालमै ज्यान गएपछि अञ्जुकी छिमेकी फुलो देवी पनि गहिरो पीडामा छिन् । उनको श्रीमान् रामविलास मण्डलको विषाक्त मदिरा पिउँदा फाल्गुण २९ गते मृत्यु भएको थियो ।

फुलोको एक छोरा र चारजना छोरी छन् । घडेरी दृष्टिबन्धक राखेर रामविलासले ७ लाख ऋण लिएर बेठी छोरी मिनाको विवाह गरेका थिए । साहुको ऋण तिर्न उनी मलेसिया कमाउन गएका थिए । ‘दश दिनअघि मात्रै छुट्टीमा घर आउनु भएको थियो,’फुलोले भनिन्, ‘गाउँको केटासँग भट्टीमा रक्सी खानुभयो । घर आएर दुई पटक उल्टि गर्नुभयो । आँखा र टाउको दुख्यो भन्नुभयो । हस्पिटल लगेँ, त्यही हामीलाई सधैंका लागि छोडेर जानुभयो ।’

छोराछोरीको विवाह, पढाइलेखाइ, पालनपोषण कसरी गर्ने ? चिन्ताले उनी शोकमा डुबेकी छिन् । उनी भन्छिन्, ‘घरमा एक गेडा अन्न छैन । कोरोना भाइसरले सबै काम ठप्प छ । कसरी खाने कसरी बच्ने ?’

रमदैयाको संगीता महराकी पति रामनारायण महरा वैदेशिक रोजगारीमा जाने तरखरमा थिए ।’भिसा आइसकेको थियो । होली मानेर विदेश उड्न लत्ताकपडा मिलाइदिएका थिायौं, ‘संगीता भन्छिन्, ‘आफै जानुभयो, विदेशको जान्छ, कसले कमाएर हामीलाई खुवाउँछ ।’

दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई प्रदेश २ सरकारले घरमै खानापानी पुर्‍याउने निर्णय लिएको तीन दिन भइसकेको छ ।तर, भोकमरी भएका परिवारलाई राहत पुगेको छैन । कोरोनाको त्रासमा भोकभोकै रहेकी अञ्जु र उनी नौं महिने छोरी आरुसी ।

सभार -अन्नपूर्णा पाेष्टबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय