जनकपुरधाम : जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा कोरोना भाइरसको जाँच गर्ने पोर्टेबल आरटी पिसिआर मेसिन जडान भईरहेको छ ।

मेसिन आएको तेस्रो दिन आज (बिहिबार) जडान कार्य सुरु भएको हो । अस्पतालले बुधबार अपरान्ह ओपीडी भवनको माथिल्लो तल्लामा कोठा उपलब्ध गराएपछि काठमाडौंबाट आएका दुई जना प्राविधिक सर्वेन्द्र मधुप र विपिन तिमिल्सिनाले पीसीआर मेसिन जडान गर्ने कार्य सुरु गरेका छन् ।

आफूहरुले ठाउँ नै ढिलो गरी पाएकोले मेसिन जडान गर्न ढिलाइ भएको काठमाडौंबाट आएका प्राविधिक टोलीका सदस्य सर्वेन्द्र मधुपले बताए । मधुपले आज साँझसम्म मेसिन जडान गरि रातीदेखि कोरोना जाँच कार्य सुरु भईसक्ने दाबी गरेका छन् ।

उनीहरु केहि दिन बसेर अस्पतालका ल्याबका प्राविधिकहरुलाई प्रशिक्षणसमेत दिने छन् । संघीय सरकारले मित्र राष्ट्र चीनबाट ल्याइएका ५ वटा पिसिआर मेसिनमध्ये ४ वटा प्रदेशलाई १÷१ वटा वितरण गरेको हो ।

कोरोना परीक्षणका लागि आवश्यक सो मेसिन प्रदेश २ को जनकपुरधाम, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीलाई दिएको छ । प्रदेश १ मा यसअघि नै मेसिन जडान भइसकेको छ भने बागमती प्रदेशको शुक्रराज ट्रपिकल हस्पिटलमा चालु अवस्थामा रहेको छ ।

यसअघि कोरोना परीक्षण गर्ने पिसिआर मेसिन नहुँदा प्रदेश २ बाट नमुना संकलन गरी काठमाडौंस्थित शुक्रराज ट्रपिकल हस्पिटल टेकुमा पठाउने गरिएको थियो । प्रादेशिक अस्पताल जनकपुरलाई पठाइएको पीसीआर मेसिनले हरेक दिन बढीमा १० वटा जाँच गरि ३ घण्टामै रिपोर्ट दिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय