जनकपुरधाम :

तराई–मधेसमा छोरीको विवाहको कुरा चल्दा पनि दाइजोको प्रसंग शुरु हुन्छ । तराई–मधेशका जिल्लाहरुमा अहिलेपनि बलविवाह र दाइजो प्रथाले जडो गाडेर बसेको छ ।

दाइजो प्रथा विशेष गरी मधेशमा जडो गाडेर बसेको देखिन्छ ।

धनुषाको नगराईन नगरपालिका जटहीका बेचनी सदाकी १९ वर्षीया छोरी पूजा सदाको विहे धनुषाकै भुतही निवासी रोहित सदाको २१ वर्षीय छोरा सुशिल सदासँग फागुन २५ गते हुने तय भएकोे थियो । तर, आर्थिक अभावका कारण बेचनीले मोटरसाइकल दिन नसकेपछि सुशिल सदा विवाह गर्न नै आएनन् । ऋण काढेर सबै तयारी गरेपनि विवाह नै नभएपछि बेहुलीपक्ष मारमा परेका छन् । साहुसँग चर्को व्याजमा ३ लाख रुपैयाँ ऋण काढेर सम्पूर्ण तयारी गरेपनि विवाह नै नभएपछि बेचनी थप आर्थिक मारमा परेका हुन् ।

विवाह नभएपछि पूजाले अब कुनै पनि हालतमा त्यो घरमा विवाह नगर्ने अडान लिएकी छन् । उनले एउटा मोटरसाइकलको लागि बिहे नगर्ने बेहुलाले उनीसँग विवाह गरेपछि झन दाइजोको लोभमा ज्यान पनि लिनसक्ने बताउँदै त्यो घरमा विवाह नगर्ने निष्कर्षमा पुगेकी बताउछिन् । यस सम्बन्धमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले यस्ताहरुलाई समातेर कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले भने–‘बेहुली पक्षले यदि जिल्ला प्रशासन कार्यालयमा जाहेरी दियो भने दाइजो कसुरको मुद्दामा हामीले बेहुला पक्षमाथि कारबाही गर्छौं ।’ राजनीतिक रुपमा जे–जति परिवर्तनहरु देखिएपनि सामाजिक रुपमा भने पछाडि नै छ भन्ने विभिन्न सामाजिक कुरीतिबाट प्रष्ट हुन्छ । यसको ज्वलन्त उदाहरण बालविवाह, बुहविवाह, दाइजो प्रथा, बोक्सी प्रथा, चेलिबेटी बेचबिखन, छाउपडी प्रथा लगायतका हुन् ।

बिहेमा के–के दिने, कति दिने, कसरी जोहो गर्ने यस्तै विभिन्न समस्या झेलिरहेका हुन्छ छोरीका बुबाआमा । सम्पत्ति नभएपनि विवाहमा ऋण गरेरै भएपनि दाइजोको नाममा केही दिनैपर्छ भन्ने एक प्रकारको नियम जस्तै बनेको छ तराई–मधेशमा ।
यसोहेर्दा छोरीलाई सम्पत्ति दिनुलाई गलत मान्न सकिँदैन । तर, केटा पक्षबाट तोकेर नै यो यो चाहियो भनेर माग गर्नु र यसकै नाममा प्रताडना गरिएको खबर बारम्बार सञ्चारमाध्यमहरुमा आइरहेको हुन्छ । यसको प्रत्यक्ष उदाहरण हो, दाइजोमा मोटरसाइकल नदिएका कारण धनुषामा एक युवतीकोे आइतबार राति विवाह रोकिएको छ ।

दाइजोका कारण बिहे रोकिने धनुषाको यी जटहीको घटना त एउटा उदाहरण मात्र हो । दाइजो नदिएकै कारण विवाह रोकिने र विवाह भइसकेपनि हत्या जस्तोे जघन्य अपराध निरन्तर हुँदै आएको छ । यस प्रकारका कुरीति र अपराध रोक्ने प्रयास कतैबाट हुन सकेको छैन । यस्ता घटनाहरुमाथि उल्टै मलजल दिने प्रयास भइरहेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय