समाज

मिथिला नगरपालिका -५ मा स्थानीय समुदायलाई जवाफदेही बनाउन सडक नाटक प्रदर्शन 

By दिवेश कुमार महतो

May 09, 2023

ढल्केवर, धनुषा

राष्ट्रिय कानुन दिवसको अवसरमा मंगलबार धनुषाको मिथिला नगरपालिका – ५ मा स्थानीय समुदायलाई अधिकार र कर्तव्यप्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउन सडक नाटक प्रदर्शन गरिएको छ । मिथिला नगरपालिका ५ स्थित पूर्वपश्चिम राजमार्गसँगै रहेको रामलक्ष्मण चौकमा बाल अधिकार संचेतना समूहले सडक नाटक प्रदर्शन गरेको छन् ।

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश द्वारा मिथिला नगरपालिका २ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयमा गठन गरेको बाल अधिकार संचेतना समुहले स्थानीय समुदायलाई अधिकार र कर्तव्यप्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउन सडक नाटक प्रदर्शन गरिएको कुरा बाल अधिकार संचेतना समुह मधेस प्रदेश सचिव राज यादवले बताउनुभयो।

 

ईन्सेक मधेस प्रदेशको सहयोगमा बाल अधिकार संचेतना समूहले प्रदर्शन गरेको सो सडक नाटक हेर्न सयोंको संख्यामा स्थानीयहरुको भीड लागेको थियो । सडक नाटक हेर्न मिथिला नगरपालिका – ५ का वडाअध्यक्ष रामचन्द्र महतो, वडासचिव सत्यमान थिङ्ग लगायतको समेत उपस्थिति रहेको थियो । नाटकमा जनता मा.वि. नक्टाझिजका बाल अधिकार समूहका कलाकारहरु धमेन्द्र कुमार महतो, श्रवण यादव, जयप्रकाश महतो, ललित कुमार महतो, प्रिन्स कुमार सिंह, सुलोचना सिन्हा र सुजिता कुमारी महतो लगायतले समुदायमा सचेतनाका लागि दमदार अभिनय गरेका थिए ।

 

 

सडक नाटक प्रदर्शनको क्रममा कलाकारहरुले छोरीको शिक्षामा गरिने भेदभाव, शिक्षामा सबैको समान पहुँच, छुवाछुत, मानवीय उपचारमा हुने लापरवाही, वातावरणीय सरसफाइ, विभिन्न हिंसा तथा विसंगति विरुद्ध अभिनय मार्फत समाजमा सचेतना जगाउन सन्देश प्रवाह गरेको सहयोगी संस्था ईन्सेकका जिल्ला सहजकर्ता अनिता यादवले जानकारी दिनुभयो ।

यता सो सकड नाटक हेरेपछि मिथिला नगरपालिका ५ का वडाअध्यक्ष रामचन्द्र महतोले समाजमा व्याप्त रहेको विभिन्न भेदभाव्, छुवाछुत, छोरा छोरीको शिक्षामा अभिभावकद्धारा गरिने असमान व्यवहार, सरसफाइको अभावमा हुने असर लगायतको विषयलाई महत्वका साथ उठान गरेकोले समाजको आँखा खोल्न यस्ता सडक नाटक ठाउँ ठाउँमा गर्न आवश्यक रहेको बताउनुभयो ।