काठमाडौं : विराटनगर विमानस्थलमा आन्तरिक उडान हुने सबै भन्दा ठूलो टर्मिनलमा निर्माण हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगरमा देशकै ठूलो टर्मिनल भवन बनाउने छ। विमानस्थलमा यात्रु चाप बढ्दै गए पनि साँघुरो टर्मिनलका कारण सेवा राम्रो नभएको भन्दै प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्ने भएको हो।

पछिल्लो समय उडान संख्या बढ्दै गएका तराईका विमानस्थलमा आधुनिक र सुविधा सम्पन्‍न टर्मिनल निर्माण गर्ने योजना अनुसार विराटनगरमा टर्मिनल बनाउन लागिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । विराटनगर विमानस्थलमा टर्मिनल भवनका लागि डिजाइनको काम सकिएको र खरिद प्रक्रिया अघि बढाउन थालिएको प्राधिकरण अन्तर्गतको विमानस्थल पूर्वाधार निर्माण हेर्ने एरोडोम निर्देशनालयका इञ्जिनियर नलबिक्रम थापाले जानकारी दिए।

थापाका अनुसार विराटनगर विमानस्थलमा अहिलेको टर्मिनल क्षेत्रफल ८२५ वर्गमिटर छ । अब नयाँ बन्ने टर्मिनल ८ हजार ९ सय ७७ वर्गमिटरको हुनेछ। यो अहिले नेपालका डोमेस्टिक (आन्तरिक उडान) टर्मिनलमा सबभन्दा ठूलो हुने छ। काठमाडौं विमानस्थलको डोमेस्टिक टर्मिनलको क्षेत्रफल ६ हजार वर्गमिटर छ। यसलाई विस्तार गरेर ८ हजार वर्गमिटर बनाउने पनि काम भइरहेको छ।

विराटनगरमा टर्मिनल बनाउन ३ अर्ब १५ करोड रूपैयाँ लगानी आवश्यक हुने प्राधिकरणको अनुमान छ। ठेक्का प्रतिस्पर्धामा जाँदा अनुमानभन्दा लागत कम पनि हुन सक्नेछ। ‘अहिलेको टर्मिनलको अवस्था विजोग छ। यस्तोमा हामीले आधुनिक सेवा सुविधा भएको टर्मिनल बनाउन खोजेका हौं,’ थापाले भने, ‘नयाँ टर्मिलनमा सपिङदेखि प्लेइङ स्पेससम्मका सुविधा हुने छन्।’ प्रतिघन्टा नौ सय यात्रुलाई सेवा दिनसक्ने नयाँ टर्मिनलले आगामी ३० वर्षसम्मको ट्राफिक थेग्‍ने प्राधिकरणको प्रक्षेपण छ।

‘पछिल्लो समय आन्तरिक उडानको संख्या बढिरहेको छ, त्यसमा पनि विराटनगरमा धेरै नै बढेको छ । त्यो हिसाबले हेर्दा आगामी तीन दशकसम्म पनि यो साँघुरो हुने छैन,’ थापाले भने । गएको दुई दशकको ट्राफिक वृद्धिदर ८ प्रतिशत रहेको र पछिल्लो पाँच वर्षमा यस्तो वृद्धिदर अझै उच्च भएकाले नयाँ टर्मिनल बनाउनुपर्ने निष्कर्षमा प्राधिकरण पुगेको उनको भनाइ छ।यो टर्मिनल भवन निर्माण भएपछि आवश्यकता परे अन्तर्राष्ट्रिय उडान पनि सञ्‍चालन गर्न सकिने थापाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय