बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित खेतमा गाडिएको अवस्थामा बालकको शव फेला परेको छ । गाउँमै आएको जन्तीमा भोज खान गएका–२३ भलुही बाराना निवासी जाकिर हुसेनका १४ वर्षीय छोरा साहिद हुसेन मियाँ मन्सुरी फागुन ११ गते रातिको करीब ११ बजेको समयबाट हराएका थिए ।

हराएको १८ दिनपछि जन्ती आएको घरदेखि करीब २ किलोमिटर पूर्वपटिट् खेतमा एउटा उद्योग नजिकै कालो थुप्रोमा एउटा खुट्टा पुरिएको र एउटा खुट्टा बाहिर भएको शव सडेको अवस्थामा फेला परेको हो ।
विहान गाउँकै महिलाले शव देखेपछि प्रहरीलाई जानकारी गराइएको थियो । प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर हेर्दा शव सडिसकेको कारण प्रादेशिक प्रहरी कार्यालय बर्दिवासको डग शाखाबाट तालिम प्राप्त कुकुर झिकाइएको थियो ।

अनुसन्धान गर्दै जाँदा कुकुरले पनि केही पत्ता लगाउन नसकेपछि प्रहरीले प्रहरीले शवको प्रकृति हेरेर घटनास्थलमा जाँच मुचुल्का तयार गरेर थप अनुसन्धान गर्दै जाँदा परिवारको सदस्यले बालकले लगाएको कपडाबाट शवको पहिचान गरेको थियो ।
बालकका बुवा जाकिर हुसेनले आफ्नो छोराको शव रहेको पुष्टि गरेका थिए । भोज खान आफूसँगै छोरालाई लिएर गएकोमा छोराले खाना खानमा ढिलो गरेपछि त्यही छोडेर घर फर्किएको तर, छोरा घर फर्केर नआएपछि आफूहरु खोजी कार्यमा लागेको बताए ।
हालसम्म नभेटिएको छोरा एकैपटक मृत अवस्थामा फेला परेको मृतकका बुवा जाकिर हुसेनले जानकारी दिए । परवानीपुरस्थित ज्ञानसागर एकेडेमी स्कुलमा कक्षा ७ मा अध्ययन गर्दै आएका छोराको डाक्टर बन्ने इच्छा थियो तर त्यो अधुरै रह्यो, भन्दै छोराको कोही साथीसँग झैझडा समेत नरहेको उनले बताए ।

आफूहरुको गाउँको कोही मानिसँग पनि रिसिबी नरहेको तर शव भेटिएको अवस्थालाई मध्यनजर गर्ने हो भने गाउँकै कुनै व्यक्तिले हत्या गरेको हुनसक्ने आशँका रहेको उनको भनाइ छ । त्यसैगरि जितपुर सिमरा उपमहानगरपालिका–२३ का वडाध्यक्ष अस्लम देवानले जन्तीबाट वेपत्ता भएका बालक एक्कासि १८ दिनपछि मृत अवस्थामा फेला परेको बताए ।
उनले बच्चा हराएपछि प्रहरी प्रशासनको सहयोगमा खोजतलास गर्दा पनि बालक नभेटिएको र यस्तो गाडिएको अवस्थामा शव फेला परेकोले यस घटनामा सँंलग्न दोषीलाई चाँडो भन्दा चाँडो पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरे । जाकिरको दुई छोरा र एउटा छोरी मध्ये साहिद जेठो छोरा हुन् ।
यता जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले कपडाको आधारमा बालकको परिवारले शवको पहिचान गरिएको बताउँदै भने, ‘शवको प्रकृति हेरि जाँच मुचुल्का तयार गरि गाउँघरमा बुझ्ने कार्य भइरहेको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि थप कुरा खुल्ने र दोषीलाई चाँडै पत्ता लगाएर कानूनी कारवाहीको दायरामा ल्याइनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय