जनकपुरधाम । भनिन्छ, विद्यालय शिक्षाको मन्दिर हो । यहाँ बिद्यार्थीहरु शिक्षकसँग शिक्षा आर्जन गर्न आउँछन् । तर, धनुषाको एक विद्यालयमा मंगलबार बिहान १० बजे जब बिद्यार्थीहरु पढाईका लागि पुगे उनीहरुको कक्षाकोठामा जन्तीहरु सुतिरहेका थिए ।

धनुषा जिल्लाकाे मिथिलाबिहारी नगरपालिका मिथिलेश्वरस्थित श्री माविमा विद्यालय समयमा बिद्यार्थीहरु अध्ययन गर्न पुग्दा अधिकांश कक्षाकोठाहरुमा गाउँमा कसैको छोरीको बिहेमा जन्ती आएका दर्जनौ मानिसहरु आराम गरिरहेका थिए ।

कक्षाकोठाहरु जन्तीको बासस्थान बनेका थिए । त्यती मात्र नभई भोज भतेर समेत विद्यालयको प्राङगनमा नै भईरहेको थियो । यस सामुदायिक विद्यालयमा कक्षाकोठाहरु पनि थुप्रै छन् तर ती कक्षाकोठाहरु जन्तीको बासस्थान बनेपछि विद्यार्थीहरु भने रुखमुनी चौरमा बसेर अध्यन गर्न बाध्य बनेका थिए ।

कक्षा ८ मा अध्ययनरत एक बिद्यार्थीले भने,‘गाउँमा कसैको विवाह, मुण्डन लगायतका कार्यहरु भए भोजभतेर पनि यसै विद्यालयको प्राङगनमा हुने गर्दछ । जन्तीको बास पनि विद्यालयमै हुन्छ र भोज पकाउने भाँडाकुडा थन्क्याउने ठाउँ पनि यस विद्यालयको कक्षा कोठाहरु नै हो ।

उनले आज विद्यालयमा जन्तीहरु बसेकाले सबै विद्यार्थी बोरा ओच्छ्याएर रुखमुनी प्राङगनमा पढिरहेको बताए । गाउँमा कसैको घरमा बिहे भए जन्तीहरु विद्यालयमै बस्छन् र बिद्यार्थी भने बोरा ओछ्याएर भुइँमा बसेर पढ्नुपर्ने बाध्यता हुन्छ,‘उनले भने ।

यस सम्बन्धमा विद्यालयका प्रधानाध्यापक लालबाबु यादवले विद्यालयको कक्षाकोठामा गाउँकै व्यक्तिहरुले विद्यालयको सहकार्यमै जन्तीलाई राख्ने गरेको बताए । उनले भने,‘हिजो नारी दिवसका दिन विद्यालय विदा रहेकोले गाउँलेको सहकार्यमै जन्तीका लागि बासस्थान उपलब्ध गराएका थियौं । अबदेखि यस्तो गल्ती हुँदैन् ।’

जम्मा १० वटा कक्षाकोठा मात्र रहेको सो विद्यालयमा १ हजार २ सय ३९ बिद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा प्रधानाध्यापक यादव लगायत १८ जना शिक्षकहरु छन् ।

स्थानीय सरकारले सार्वजनिक शिक्षा सुधारका लागि काम गर्ने जनाउँदै आएपनि पुर्णता पाएको ३ वर्ष बितेपनि सुधारका कुनै काम नभएको देखिएको छ ।–फरकधार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय