जनकपुरधाम । महोत्तरीको बर्दिबास घटनाको विषयलाई लिएर बुधवार महोत्तरीको सदरमुकाम जलेश्वरमा स्वतन्त्र युवाहरुले मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । युवा नेता आशुतोष झा ‘नवीन’को नेतृत्वमा बर्दिबासको घटनालाई लिएर युवाले मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन्।

६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा मंगलवार बर्दिबासमा पीडित परिवारको न्यायका लागि आन्दोलन गर्ने क्रममा प्रहरीको गोली लागेर तीन जना घाइते भएका थिए। घाइतेमध्येका स्थानीय युवक संजय भनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा बुधवार बिहान काठमाडौंको ग्रान्डी अस्पतालमा मृत्यु भएको छ ।

न्यौपानेको मृत्युको विरोधमा महोत्तरीको जलेश्वर नगरपालिकामा बुधबार युवाले मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेको युवा नेता आशुतोष झा नवीनले जानकारी दिए।

प्रदर्शनमा सहभागीहरुले ‘जनतालाई गोली हान्ने प्रहरीलाई कारबाही गर’, ‘संजय न्यौपानेलाई सहिद घोषणा गर’, ‘बलात्कारीलाई फाँसी दे’, ‘६ वर्षीया बालिका गुलबसा खातुनलाई न्याय दे’ लगायतको नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।

यता न्यौपानेको मृत्युपछि बर्दिबासमा प्रशासनले शिषेधाज्ञा लगाए पनि बिहानैदेखि राजमार्गमा चक्काजाम तथा टायर बालेर प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय