हाम्रो जनकपुर / कार्तिक२० ,सिरहा ।भारतबाट सिराहाको माडर नाका हुँदै ठूलो परिमाणमा प्याज आयात गरिएको छ । विभिन्न १० नाका खुला गरिएकामध्ये सिराहाको माडर नाका पनि पर्छ । यही नाका भएर १ सय १५ पटक ट्रक, जिपलगायतका मालबाहक सवारीसाधानमा प्याज नेपाल भित्रिएको हो ।

नेपालमा प्याजको संकट देखिएपछि माडर भन्सार हुँदै प्याज, आलुलगायतका कृषि उत्पादनहरू ठूलो परिमाणमा आयात गरिएको छ । माडर भन्सारअनुसार कात्तिक दोस्रो सातासम्म ११ लाख १५ हजार ९ सय ९१ किलो प्याज आयात गरिएको छ ।

नेपाल आयात हुँदा भन्सार कार्यालयमा प्रतिकिलो प्याजको मूल्य बढीमा २५ रुपैयाँ भारु उल्लेख गरिएको छ । माडर भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताका अनुसार कृषि सुधार शुल्क र भन्सार राजस्व गरी प्याजबाट ७९ लाख ८८ हजार ३ सय ६३ रुपैयाँ संकलन गरिएको छ ।

प्याज आयातका लागि स्थानीयदेखि अन्य जिल्लाका व्यवसायीहरू पनि माडर भन्सार आएका र ठूलो परिमाणमा प्याजको आयात गरेको सूचना अधिकारी गुप्ताले बताए ।

लक्ष्यको आधा राजस्व तीन महिनामै
लकडाउन खुकुलो भएसँगै माडर भन्सार कार्यालयले लक्ष्यको आधा राजस्व असुली गरेको छ । चालू आर्थिक वर्षमा १७ करोड २१ लाख ९८ हजार राजस्व असुली गर्ने लक्ष्य पाएको भन्सार कार्यालयले ३ महिना (साउन, भदौ र असोज) मा ८ करोड १५ लाख ८८ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

चालू आर्थिक वर्षको साउनमा २ करोड ६८ लाख ९० हजार, भदौमा २ करोड १९ लाख ३८ हजार र असोजमा ३ करोड २७ लाख ६० हजार राजस्व असुली भएको सूचना अधिकारी गुप्ताले बताए ।

गत आर्थिक वर्षमा माडर भन्सारले लक्ष्यको ८७ प्रतिशत मात्रै राजस्व असुली गरेको थियो । कोरोनाका कारणले लकडाउन भएपछि भन्सारमा चैतदेखि सामान आयात ठप्प भएपछि असुली नै शून्य भएको गुप्ताले बताए ।

गत आर्थिक वर्ष ०७६/७७ मा २० करोड ३० लाख ८ हजार लक्ष्य दिएकोमा १७ करोड ७३ लाख ४० हजार मात्र राजस्व संकलन भएको उनले जानकारी दिए ।

माडर नाका भएर मार्बल्स, एसबेस्टर, लत्ताकपडा, इलेक्ट्रोनिक्सका सरसामानको आयात हुँदै आएको माडर भन्सारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय