हाम्रो जनकपुर / सिरहा । सिरहाकाे मिर्चैया नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै त्यहाँका स्थानीय र राजनीतिक पार्टीहरुले त्यस विरुद्ध सर्वदलिय रुपमा आन्दोलनको घोषणा गरेको छ ।
सर्वदलिय संयुक्त संघर्ष समितिले एक पत्रकार सम्मेलन गर्दै उक्त आन्दोलनको घोषणा गरेका हुन् ।
भाद्र २६ मा मिर्चैया बजारमा र्याली प्रदर्शन, २८ भाद्र राघोपुरमा नगरपालिकाको गतिविधिबारे विषेश चर्चा र असोज २ मा आन्दोलनको समिक्षा गर्दै आउने दिनको आन्दोलनका प्रारुप तय गर्ने जारी प्रेस विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवको निर्देशनमा नगरपालिकाले नियमित रुपमा सार्वजनिक गर्नुपर्ने सूचनाहरु लुकाएर चरम भ्रष्टाचार गर्न लागेको आरोप लगाएका छन् । पदिय मर्यादालाई दुरुपयोग गर्दै मेयर यादवले आफु अनूकुल नीति, नियम तथा ऐनलाई अपव्यख्या गरेर भ्रष्टाचार गर्ने गरेको नेपाल कम्युनिष्ट पार्टीका जीवछ साहले बताए ।

योजना संचालन हुने स्थानका उपभोक्ताको प्रत्यक्ष सहभागीतामा उपभोक्ता समिति गठन गर्ने प्रावधान छ तर मेयर यादवले त्यसलाई बेवास्ता गर्दै अधिकांश योजनाका उपभोक्ता समितिमा अन्य ठाउँका आफु अनूकुलका व्यक्तिहरुलाई राखेर मोटो रकम नजराना असुल्ने गरेको उनको आरोप छ ।

नगरपालिकाबाट संचालन भएको योजनाहरुको विस्तृत विवरण सहितको जानकारी लिन लिखित निवेदन दिएर पटक पटक ताकेता गर्दा पनि बनावटी कारण देखाएर मेयर यादवले समय टार्दै आएको स्थानीय नेता अंजय कुमार साहको आरोप छ ।

सूचना दियो भने मेयर गरेको भ्रष्टाचारको पोल खुल्ने भएर सार्वजनिक गर्नुपर्ने सूचनाहरु समेत लुकाउन लागी परेको उनको ठम्याई छ ।

नगरपालिकाको कर्मचारीहरु मध्ये अधिकांश मेयरको आफन्तै रहेको उनीहरुको दाबी छ । पदिय मर्यादालाई दुरुपयोग गर्दै पहुँचको भरमा भ्रष्टाचार गर्ने नियतले अरु ठाउँबाट आफ्ना आफन्तलाई सरुवा गराएर नगरपालिकामा ल्याएको उनीहरुको बुझाई छ ।
‘मेयर हुनुभन्दा अगाडि मोहनमाविको अध्यक्ष थियो,’नेकपाका प्रदिप महासेठले भने,‘त्यो बेला विद्यालयमा गरेको अनियमितता ढाकछोप गर्न मेयरको मर्यादालाई बिर्सेर गैर अभिभावकको बलमा मेयर श्रवण यादव आफै व्यवस्थापन समितिको अध्यक्ष बनेको छ ।’ विद्यालय व्यवस्थापन समितिलाई नै निर्माण समितिमा परिणत गरेर विद्यालयमा चरम भ्रष्टाचार गर्दै आएको उनको दाबी छ । नगरक्षेत्रभित्रको सार्वजनिक जग्गा व्यक्तिको नाउँमा तथा मेयरले अनुचित लाभ लिनु, मोहन माविको जग्गालाई व्यक्तगत रुपमा प्रयोग गर्नु, आफ्ना नजिकका व्यक्तिलाई उपभोक्ता समितिमा राखेर सो काम पेटीमा ठेकेदारलाई दिनु लगायतका गतिविधिबाट मेयरको भ्रष्टाचारी नीति प्रष्ट भइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य रामप्रताप साहले दाबी गरेका छन् । मिर्चैया नगरपालिकाका मेयरले गर्ने गरेको नियम विपरितका कार्यलाई रोक्न तथा सच्चयाउनका लागि सर्वदलिय रुपमा पहिलो चरणको आन्दोलनका कार्यक्रम मार्फत सांकेतिक दबाव मात्र दिएको जनता समाजवादीका रामेश्वर यादवले यदि यसलाई बेवास्ता गर्दै अघि बढ्ने प्रयास मेयरबाट भइरहेमा भिषण आन्दोलन हुने दाबी गरे । चुनाव हारको इख पोख्नु वाहेक केही सत्यता छैन् ःमेयर यादव कोभिड–१९ को बढ्दो संक्रमणको मौका छोपेर विपक्षीहरुले चुनावी हारको इख साध्न दाउ लगाउनु वाहेक आन्दोलनकारी पक्षको भनाई र आरोपमा कुनै सत्यता नभएको मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले बताए । ‘मागिएको सूचना तथा जानकारीको अधिकांश कागजात तयार छ । कोभिडमा लाग्नु परेको कारण केही समय लाग्न गयो’, मेयर यादवले भने,‘कोभिडको बढ्दो संक्रमणको यो बेलामा जनताको सेवा गर्नुको साटो स्थानीय सरकार विरुद्ध चुनाव हरुवाहरुले नानाथरीका बखेडाबाजी सुरु गरेको छ ।’ अहिले स्वास्थ्य सुविधाको व्यवस्था, विपन्न गरिबको राहत व्यवस्थापन तथा कोरोनाको कारण मृत्यु हुनेको शव व्यस्थापन गर्दै कोरोनाको चपेटबाट नगरलाई कसरी बचाउने भनेर विमर्शका साथ अघि बढ्न थालेको स्थानीय सरकारलाई सबै मिलेर सहयोग गर्नुको साटो असहयोग गर्दै आएको उनको दाबी छ । प्रक्रियाबाट आउट भएर ठेक्का नपाएका, राजनीतिक पूर्वाग्राही भएका, चुनावमा हार खाएकाहरुले समूह बनाएर नगरपालिकाले गर्दै आएको राम्रो कामलाई देख्न नसकेर विफल बनाउने सोच राखेर बेतुकको आन्दोलन तथा जालझेल सुरु गरेको मेयर यादवको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय