हाम्रो जनकपुर /जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कामेश्वर कापरले तीन वटा पोखरी विगत तीन वर्षदेखि ठेक्का लगाएर आर्थिक हिनामिना गरेको रहस्य खुलेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मै राम जानकी पोखरी, भगवानपट्टी पोखरी र गुलरीया पोखरी ठेक्का लगाए । पोखरी ठेक्का लागेको अहिले तेस्रो आर्थिक वर्ष चल्दैछ । यद्दपी पहिलो र दोस्रो आर्थिक वर्षमा पोखरी ठेक्काबाट उठेको रकम समेत नगरपालिकामा बुझाएका छैन । नगरपालिकाले गराएको लेखा परीक्षणको प्रतिवेदनमा पोखरी ठेक्का नलागेको दावी गरिएको छ । पोखरी सार्वजनिक (सरकारी) भएपनि ठेक्काबाट उठेको रकमबाट वडाध्यक्ष कापरले गोजी भर्ने काम गरेका छन् । स्रोतका अनुसार जानकी पोखरी प्रतिवर्ष ५० हजार, भगवानपट्टी पोखरी प्रतिवर्ष ५ लाख ५० हजार र गुलरिया पोखरी प्रतिवर्ष ५ लाख रुपैयामा वडाध्यक्ष कापरले ठेक्का लगाएका हुन् ।

वडाध्यक्ष कापरले पोखरी ठेक्का लगाएपनि ठेकेदारलाई कुनै प्रमाण दिएको छैन । एक ठेकेदारले पोखरी गोप्य रुपमा ठेक्का दिएका कारण कागजी प्रक्रिया पुरा नगरेको बताए । पोखरी ठेक्काबापतको रकम वडाध्यक्षलाई नै बुझाउने गरेको उनको भनाई छ । यता, वडाध्यक्ष कापरले राम जानकी पोखरी मात्र ठेक्का लगाएको स्वीकारे । उनले भने, ‘तीन वटा होइन्, एउटा राम जानकी पोखरी प्रतिवर्ष ३ लाखका दरले ठेक्का लगाएको छु ।’ पोखरी ठेक्काबाट उठेको रकम आफ्नो नीजि बैंक खातामा राखेको पनि स्वीकारे ।

उनले नगरपालिकाका धेरै पोखरी ठेक्का लागेपनि रकम नबुझाएको बताए । अरुले ठेक्का लगाएर रकम हिनामिना गरेमा तपाई पनि हिनामिना गर्ने भन्ने जिज्ञासमा उनले भने, ‘त्यो त मिल्दैन् । रकम मसँग छ । म भरतपुर आएको छु । फर्केपछि नगरपालिकामा बुझाउँछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय