हाम्रो जनकपुर / महोत्तरी । कोभिड–१९ संक्रमण बढ्दै जाँदा प्रदेश २ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउन लागेको छ ।

भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट ९बीओपी० को अहिलेको सङ्ख्या ५० रहेको छ । अब ७३ बीओपी थपेर १२३ पुर्‍याउन लागिएको सशस्त्र प्रहरी बल प्रदेश २ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवासले जनाएको हो । सीमा क्षेत्रमा हुने अवाञ्छित क्रियाकलापको निगरानीमा थप जनशक्ति बढाउन आवश्यक भएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बीओपी) थपिन लागेको हो ।

प्रदेश २ को भारतसँग सीमा जोडिएको ४६४ किलोमिटर दूरीभित्र बिओपी थप्न थालिएको बाहिनी कार्यालयले जनाएको छ । प्रदेशका आठ जिल्लाका सीमाक्षेत्रमा तीन चरणमा ७३ बीओपी थप्ने योजनाअन्तर्गत अहिले तत्काल पहिलो चरणमा १२ वटा सञ्चालनमा ल्याइने सशस्त्र प्रहरी बलका प्रदेश २ का बाहिनीपति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मचार्यले जानकारी दिए ।

केही नयाँ पोष्टहरू भने सञ्चालनमा आइसकेको उनको भनाइ छ । दोस्रो चरणमा २४ र तेस्रो चरणमा ३७ बीओपी स्थापना गरिने छ । सशस्त्र प्रहरी सीमा पोष्टमा अहिले प्रदेशभरिमा तीनहजार ५०० जनशक्ति परिचालित छन् । कोभिड–१९ सङ्क्रमणको सन्त्रास छाएका बेला सीमाक्षेत्रमा हुने दोहोरो आवागमन रोक्न, सीमाक्षेत्रमा हुँदै आएका अवाञ्छित क्रियाकलाप निरुत्साहित गर्न र सीमा सुरक्षामा थप जनशक्ति बढाउन बीओपी थपिन लागेको बाहिनी कार्यालयले स्पष्ट पारेको छ ।

कोभिड–१९ सङ्क्रमण शुरु भएदेखि सशस्त्र प्रहरीले प्रदेश–२ का नाकाहरुमा ५९ वटा ‘फरवार्ड अपरेटिङ बेस’ (एफओबी) समेत स्थापना गरेको छ । अवैधरूपमा भारतबाट भित्रिने व्यक्तिलाई रोक्ने र क्वारेन्टिन केन्द्रमा पठाउने काम एफओबीले गर्दै आएको बाहिनीपति ब्रह्मचार्यको भनाइ छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि प्रदेशभित्र सशस्त्र प्रहरीले २० ठाउँमा ५५१ शय्याका क्वारेन्टिन केन्द्र सञ्चालनमा ल्याएको छ । प्रदेशभित्र सञ्चालनका लागि आठवटा ‘ड्रोन’ तयार अवस्थामा राखिएका छन् ।

सशस्त्र प्रहरीले प्रदेशका आठ जिल्लाका भारतसँग सीमा जोडिएका स्थानीयतहका १३३ वडामा सम्बन्धित वडाअध्यक्षको नेतृत्वमा गठित सीमा निगरानी समितिसँग समन्वय गरेर ‘सीमा सुरक्षामा जनता र सशस्त्र प्रहरी साथसाथ छन्’ भन्ने सन्देश प्रवाह गरेको बाहिनीपति ब्रह्मचार्यको भनाइ छ ।

खबरहब

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय