हाम्रो जनकपुर

जनकपुरधाम, १८ साउन । जनकपुर उपमहानगरपालिका भित्र भोलि (सोमबार) रातिदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा सोमबार राति १२ बजेदेखि लागू हुनेछ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उपमहानगर क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएकाले कडाई गरिएको जानकारी दिनुभयो । उहाँले तोकिएको बाहेक कोही पनि बाहिर निस्कन नपाउने समेत प्रष्ट पार्नुभयो ।

प्रजिअ भट्टराईले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरि प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु सोमबार राति १२ बजेदेखि एक हप्तासम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जनकपुरधाम उपमहानगरपालिका भरि निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो ।

प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशपलाई अत्यावश्यक सेवा उल्लेख गरेको छ ।

प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ । धनुषा लगायत प्रदेश २ को चार जिल्लामा यतिबेला निषेधाज्ञा लागू गरिएको छ । यस अघि संक्रमण बढ्दै गएपछि सबैभन्दा पहिले सप्तरी(राजविराज) त्यसपछि पर्सा (बीरगञ्ज) , महोत्तरी (जलेश्वर) र सोमवारदेखि प्रदेश नं २ को अस्थायी राजधानी जनपुरमा निषेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय