धेरै ठाउँमा बोर्डर आउट पोस्ट (बिओपी)का भवन छैनन्, विद्युत्, सञ्चार, खानेपानीको सुविधा छैन । खोलाको पानी पिउनुपर्ने बाध्यता छ । नेपाली सुरक्षाकर्मीले सिम पनि भारतकै प्रयोग गर्नुपर्छ । त्यति मात्रै होइन, एउटा पोस्टबाट अर्को पोस्टमा जान पनि भारतीय बाटो हिँड्नुपर्छ ।

सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई खटाएको छ । तर, बर्खाको मुखमा ओत लाग्ने गतिलो टहरोसमेत नहुँदा सुरक्षाकर्मीलाई आफ्नै सुरक्षा गर्न पनि धौधौ छ । कोरोना महामारीपछि सीमामा अस्थायी पोस्ट खडा गरेर पालमुनि राखिएका सुरक्षाकर्मीको त झन् धेरै बिजोग छ । हुरी, बतास आउँदा र पानी पर्दा उनीहरू पाल समातेर बस्न विवश छन् ।

गत आइतबार भारतको हिमाञ्चल हुँदै नेपालको पश्चिम क्षेत्रमा हावाहुरीसहित ठूलो वर्षा भयो । दिउँसो करिब ३ बजेतिर हावाहुरी धनगढी आइपुगेको खबर सुनेपछि बर्दियाको कालाबन्जरस्थित सशस्त्र प्रहरीको बिओपीमा हल्लीखल्ली मच्चियो । हावाहुरीबाट टिनका टहरा जोगाउन हतारहतार जवानहरू खटिए । टिनका छानामा माथिबाट फलामे तार लगाई जमिनमा काठका किला ठोकेर बाँध्न थाले । तर, हुरी आउन्जेल गाडी राख्ने र खाना खाने टहरो भने बाँध्न भ्याएनन्, दुवै टहराको टिन हुरीले उडाएर लग्यो । 

बिओपी राख्दा सुरुमा त्रिपालको ओत मात्रै थियो । गत वर्ष तीनपटकसम्म हुरीले त्रिपाल उडाएपछि स्थानीय व्यापारी र इँटा उद्योगीको सहयोगमा सशस्त्रले टिनका टहरा बनाएको थियो, तर ती पनि असुरक्षित छन् । ऐलानी जग्गामा टहरा बनाइएका छन्, पक्की घर बनाउन बजेट छैन । पटक–पटक गृह मन्त्रालयमा आग्रह गर्दासमेत जग्गा पाउन नसकिएको सशस्त्रका एक अधिकृतले बताए । 

बर्दियामा सशस्त्र प्रहरी सीमा सुरक्षा बलको एक हेडक्वार्टर र पाँचवटा बिओपी छन् । हेडक्वार्टर मात्रै आफ्नै जग्गामा व्यवस्थित रूपमा बनेको छ । पछिल्लो समय कोरोनाको संक्रमणबाट जोगाउन सीमामा खटिएका सशस्त्र प्रहरी त त्रिपालमुनि नै कष्टकर ढंगले बसेका छन् । हावाहुरी र पानी पर्दा उनीहरूलाई ज्यान जोगाउनै हम्मे पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय