प्रदेश २

नेपाली सेनामा अब नयाँ संरचना

By हाम्रो जनकपुर डेस्क

March 05, 2020

काठमाडौं, २१ फागुन । आकाशदेखि जमिनसम्मको सैन्य संरचनामा अब जल मिसिने भएको छ । ‘रिभर बेसिन’, अर्थात् नदी आधारित सैन्य परिचालनको अवधारणा विकास गर्दै नेपाली सेनाले आफ्ना पृतनाहरुको स्वरुपमा पनि फेरबदल गरेको छ ।

सेनाले राष्ट्रिय सुरक्षासँगै उद्धारकार्यमा पनि भूमिका प्रदर्शन गर्दै आएको छ । यी दुबै प्रयोजनका लागि हाल सेनासँग उपलब्ध स्थल र हवाई संरचना पर्याप्त नहुने निश्कर्षका साथ नदीआधारित संचरना तय गरिएको हो ।

यो अवधारणा अनुसार देशका ठुल्ठूला नदीमध्ये कोशी, गण्डकी र कर्णालीलाई आधार बनाएर त्यस्तो पूर्वी, कध्य र पश्चिम कमाण्ड खडा हुन लागेको हो । यससँगै विभिन्न पृतनालाई समायोजन गर्ने काम पनि शुरु भएको छ । अब दुई–तीन वटा पृतना मिलाएर एउटा कमाण्ड बन्ने छ ।

यसअघि पहिलाको पाँच विकास क्षेत्रमा आधारित पृतना हेडक्वार्टरलाई प्रदेशको व्यवस्थापछि प्रदेशस्तरीय बनाइएको थियो । ०७४ वैशाख २९ को क्याबिनेटको निर्णयानुसार प्रदेश २ र ५ मा नयाँ पृतना खडा गरिए । अब ती पृतना कमाण्डमा समायोजन हुँदैछन् ।

इटहरीस्थित पूर्वी पृतनासहित सर्लाही, जनकपुरतिरको पृतनालाई मिलाएर एक कमाण्ड बन्दै छ । सुर्खेतको मध्यपश्चिम र दिपायलको सुदूरपश्चिम पृतना एउटै कमाण्ड मातहत जानेछन् ।

त्यसअनुसार उपत्यका पृतनाले हेर्दै आएको सिन्धुपाल्चोक र काभ्रे जिल्ला बर्दिबासस्थित पूर्वीमध्ये कमाण्ड मातहत गएको छ । दोलखा, सिन्धुली पनि त्यसरी नै कमाण्ड हेरफेरमा पर्दै गरेको खबर जनआस्था साप्ताहिकले छापेको छ ।