राजविराज, १२ फागुन । मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन इज्तिमा सम्पन्न पश्चात दुर्गन्धित बन्न पुगेको सप्तरीको बोदेबर्साइन–५ जाँजरमा थुप्रिएको फोहोर उठाउने कार्यलाई निरन्तरता दिईएको छ ।
राजविराज जेसीजलगायत नगरपालिका, विभिन्न संघ–संस्था, नागरिक र प्रहरीले मिलेर उठाउन थालिएको हो । नगरपालिकाको संयोजनमा राजविराज जेसीज, सप्तरी युथ नेपाल, इज्तिमा आयोजक समिति जाँजर, ग्रिन नेपाल, सबल नेपाल, विवेकशिल नेपाल, नयाँ समाज विकास प्रतिष्ठान, छिन्नमस्ता विकास केन्द्र, समग्र जन उत्थान केन्द्र लगायतका संघ–संस्था आवद्ध व्यक्तिहरुले सरसफाई सुरु गरेका हुन् ।
सामुहिक सरसफाई कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाली सेनाको भिम दल गणको उल्लेख्य सहभागिता थियो । राजविराज जेसीजको तर्फबाट अध्यक्ष नानीमैयाँ कटवालको नेतृत्वमा कार्यकारिणी उपाध्यक्ष मनिष दास, महासचिव खेलानन्द दास, उपाध्यक्ष मीना साह, जनसम्पर्क अधिकारी इमरान अली, सदस्य अमर यादवलगायतको सहभागिता रहेको थियो ।
आयोजकले दुई हजार दुई सय शौचालय निर्माण गरेपनि सहभागि सङ्ख्या एक लाख बढी भएकाले आसपासका क्षेत्रमा दिसा र परालको थुप्रो, खाना खाएका प्लेट, प्लाष्टिकका बोतल र गिलासले भरिएको छ । बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंह यादवले ट्रयाक्टर र १० वटा हाते पम्पबाट भि भ्याक्स औषधी छर्कने, खाना र शौच पुर्ने र फोहोर संकलन गरी आगोले नष्ट गर्ने कार्य भइरहेको जानकारी दिए ।
सयभन्दा बढी विघा क्षेत्रफलमा फोहोर थुप्रिएकोले नगरपालिकाले मात्रै सरसफाई गरेर सम्भव नहुने देखेपछि सबैलाई सरसफाई कार्यक्रममा जुट्न नगरपालिकाले आग्रह गरेको छ । नगर प्रमुख यादवले सरसफाई कार्यक्रममा सहयोग र साथ दिनुहुने सम्पूर्ण सरकारी तथा गैर सरकारी संघ संस्थाप्रति आभार व्यक्त गरेका छन् । गत फागुन ३, ४ र ५ गते आयोजना गरिएको धार्मिक सम्मेलन इज्तिमामा नेपाल भारतका दुई लाख भन्दा बढी मुस्लिम समूदायका साथै धर्मगुरुहरुको सहभागिता थियो । स्वयम्सेवी, अभियन्ताहरू तथा प्रहरीको सामूहिक सहभागिता निरन्तर सरसफाई भएमा फोहोर सफा गर्न करिब एक महिना लाग्ने राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालले जानकारी दिईन् । newstoday copied

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय