पर्वत : समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीले आकाश तिर फर्केर थुक्दा त्यही थुक आफ्नै मुखमा परेको बताएका छन् । पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत शनिबार पर्वतमा आइपुगेका अध्यक्ष भट्टराई प्रधानमन्त्री ओलीले फागुन ३ गते आफूमाथि औँला ठड्याउने दु’स्साहस गरेको दाबी गर्दै अहिलेको सरकार भ्रष्टाचारको नमुना भएको बताए।

‘भनिन्छ नि आकाशतिर फर्केर थुक्दा आफैँलाई पर्छ। अस्ति ३ गते म माथि औँला ठड्याउनुभयो। मतिर फर्केर आकाश तिर थुक्नु भयो ८ गते त आफ्नै मुखमा पर्‍यो।’ उनले भने, ‘उहाँ अस्वस्थ हुनुहुन्छ। मेरो बोलीले उहाँलाई प्रतिकूलता पनि हुन सक्छ । त्यसैले योभन्दा बढी केही पनि भन्दिनँ।’ प्रधानमन्त्री ओली र गोकुल बाँस्कोटा अत्यन्तै मिलनसार भएकोले कमिशनको विषयमा आएको अडियोको बारेमा प्रधानमन्त्रीलाई थाहा भएर पनि चुप लागेर बसेको दाबी गरे।

‘प्रधानमन्त्री ओली आफैँ भ्रष्टाचारजस्तो फोहोरको गन्हाउने थुप्रोमा बसिरहेका छन्। खुलेआम यतिले उपचार गर्न र चुनाव गर्न पैसा दियो भन्नुहुन्छ’ डा भट्टराईले भने, ‘देशका प्रधानमन्त्रीले नै नाकैमुनि भ्रष्टाचार गराउँदा सुशासन र समृद्धि नआउने भएकोले यो मुद्दा गम्भीर रूपमा आएको छ। दुई महिना अघि नै प्रधानमन्त्रीको हातमा अडियो पुगेको थियो भन्ने सुनियो। थाहा हुँदा हुँदै प्रधानमन्त्री किन चुप बस्ने?’

दुई तिहाइ बहुमत प्राप्त नेकपा नै ओरालो बाटो लागेका कारण अबको वैकल्पिक शक्ति समाजवादी पार्टी मात्र भएको उनको दाबी छ।‘बीउ राम्रो भएर रुख राम्रो हुने जस्तै समाजवादीमा आस्था राख्नेको संख्या थोरै भए पनि सडेको बीउ नपरेको कारण भविष्यको शक्ति यही नै हो’ उनले भने, ‘संघीयता, सुशासन, समृद्धि र समाज वादको एकीकृत रूप नै हाम्रो पार्टीको मर्म हो। समानुपातिक र समावेशी लोकतन्त्रको पक्षमा हाम्रो पार्टी हो ।’ कार्यक्रममा नेकपा र नेपाली कांग्रेसको राजनीति गर्दै आएका तथा आस्था राख्दै आएका दर्जनौँ व्यक्ति डा भट्टराईको हातबाट टीका लगाएर समाजवादी पार्टीमा प्रवेश गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय