जयनगर–जनकपुर–कुर्था खण्डमा सञ्चालन गर्न भारतमा रेल सेट बनेको दुई महिना हुन लाग्यो । तर कर्मचारी नहुँदा रेल ल्याएर चलाउन समस्या भएको छ । अहिले २ सय २६ जना कर्मचारी चाहिएको छ । तर रेलवे कम्पनीले २६ जना कर्मचारी करारमा माग गर्दै शुक्रबार विज्ञापन खुलाएको छ ।

चैत १८ भित्र रेलवे आउने र त्यो बेलासम्म सबै कर्मचारी करारमा राखिसक्ने उनको दाबी छ । मन्त्रिपरिषद्ले रेलका लागि कर्मचारी भर्ना गर्न माघमा स्वीकृति दिएको थियो । सोहीअनुसार भर्नासम्बन्धी मापदण्ड बनाएर कम्पनीले विज्ञापन खुलाएको हो । ‘अहिले माग गरिएका २६ जना कोर कर्मचारी हुन्,’ उनले भने, ‘जसलाई भर्ना गरेपछि रेल चलाउन समस्या हुनेछैन, अरू भने सुरक्षा गार्डदेखि सहयोगीसम्म हुनेछन् ।’ १५ दिनको समय दिएर नेपाली कर्मचारी माग गरिएको हो । ‘भएन भने विदेशी कर्मचारी पनि माग गर्छौं,’ मिश्रले भने ।

विज्ञापनअनुसार सिनियर सेक्सनल इन्जिनियर सिग्लनिङ १, स्टेसन मास्टर ८, चिफ पावर कन्ट्रोलर र चिफ लोको इन्स्पेक्टर १/१ जना माग गरिएको छ । त्यस्तै लोको पाइलट, सहलोको पाइलट, पी वे सुपरभाइजर, मेकानिक र प्वाइन्ट मेन ३/३ जना मागिएको छ । ‘अब दुवै रेल सेट एकै पटक ल्याउँछौं,’ उनले भने, ‘दोस्रो चरणमा दुई सय कर्मचारी भर्ना गर्नेछौं ।’ केही दिनभित्रमै दुई सय कर्मचारीका लागि विज्ञापन खुलाइने उनले जानकारी दिए । सबै कर्मचारी करारमा राख्न लागिएको हो ।

मन्त्रिपरिषद्ले रेल सञ्चालनका लागि आवश्यक दक्ष श्रमिक नेपाली नागरिकबाट आपूर्ति हुन नसके श्रम ऐन ०७४ को दफा २२ बमोजिम २६ जना विदेशी दक्ष श्रमिक नियुक्त गर्न नेपाल रेलवे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो । सोहीअनुसार भर्ना गरिने रेल विभागले जनाएको छ । यसअघि रेल माघ तेस्रो साताबाट सञ्चालनमा आउने बताइएको थियो । तर समयमै कर्मचारी भर्ना गर्न नसक्दा रेल सञ्चालन अन्योलमा परेको हो ।

विभागले लामो समयदेखि दुई सय कर्मचारी भर्ना गर्नुपर्ने माग गरिरहेको थियो । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ढिला हुँदा कर्मचारी भर्ना प्रक्रिया अघि बढ्न सकेको थिएन । आठ वटा स्टेसनका लागि कर्मचारी चाहिए पनि अहिलेसम्म कुनै पनि स्टेसनमा कर्मचारी भर्ना गरिएको छैन । एउटा स्टेसनमा कम्तीमा १० देखि १५ जना कर्मचारी राखिनेछ ।

पहिलो चरणमा जयनगगरदेखि कुर्थासम्मको ३५ किमि दूरीमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजलपुरासम्म १७ किमि छ । यो खण्डमा रेल लिकको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै अर्को खण्ड बिजलपुरादेखि बर्दिबाससम्म १७ किमिमा पनि काम भइरहेको छ । सबै गरेर रेल नेटवर्क जयनगरदेखि बर्दिबाससम्म ६९ किमिको हुनेछ ।

सुरुमा राम्रो तयारी नपुग्दा समस्या भएको थियो । अब भने कर्मचारी भर्ना प्रक्रिया सुरु भएकाले समस्या नहुने महानिर्देशक मिश्रको दाबी छ । यता रेलवे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रियसभामा विचाराधीन छ । रेल खरिदका लागि ८४ करोड ६५ लाख रुपैयाँमध्ये २० प्रतिशत रकम बैंक खातामार्फत पठाइसकिएको छ । थप रकम रेल चलाएर चित्त बुझेपछि मात्र दिइने विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय