काठमाडौं । प्रदेश ५ को प्रदेश सभा कक्षमा कुर्सी र माइक तोडफोड गरिएको छ ।
नेपाली काँग्रेसका सांसदहरूले प्रस्तावित लुम्बिनी प्रदेशको सभा कक्षका कुर्सी र माइक तोडफोड गरेका छन् ।
विरोधका बाबजुद प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी मुकाम र नामकरण सम्बन्धी प्रस्ताव अघि बढाएपछि आक्रोशित कांग्रेसका सांसदहरूले सभाकक्ष तोडफोड गरेका हुन् ।
त्यसअघि आक्रोशित काँग्रेसका सांसदहरूले उनलाई रोस्टममा जान रोकेका थिए । “नेपाली काँग्रेसलाई इतिहासले यक्ष प्रश्न सोध्नेछ । नेपाली कांग्रेसका साथीहरूलाई आफ्नो परम्परा कायम गर्न म अनुरोध गर्न चाहन्छु,” आक्रोशित देखिएका मन्त्रीले संसदमा भने, “माननीय सदस्यहरूले आज जे प्रस्तुत गर्दै हनुहुन्छ, नेपाली काँग्रेसमा बीपीले पनि गिज्याउँदै हुनुहुन्छ ।”
उनले कांग्रेसले संसदीय अभ्यासको नमुना देखाएको टिप्पणी गरे । र, इतिहासको मजाक नगर्न र आवेगले होइन विवेकले काम गर्न आग्रह गरे ।