जनकपुरधाम । धनुषामा अवैध खोला उत्खननको विरोध गर्दा मारिएका मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका २४ वर्षीय दिलीप महतोको आमाबुबासहित ६ जना विरुद्ध प्रहरीमा उजुरी परेको छ ।

दिलीपको हत्या गर्ने चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतो पक्षले उनका आमाबुबा, दिदीबहिनी र भिनाजुसहित ६ जना विरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

बन्द रहेको चुरियामाई बालुवा प्रशोधन उद्योगमा आगो लगाएको भन्दै दिलीपका बुबा रामजीवन महतो, आमा चन्द्रकला देवी महतो, दिदी कविताकुमारी महतो, बहिनी संगमकुमारी महतो, लक्ष्मीकुमारी महतो र भिनाजु उमेशकुमार महतो विरुद्ध उजुरी दिएका हुन् ।

गत भदौको अन्तिम साता इलाका प्रहरी कार्यालय ढल्केबरमा हत्या गर्ने मुख्य नाइके क्रसर सञ्चालक विपीन महतोका बुबा मिथिला नगरपालिका ५ श्रीपुर बस्ने साधुशरण महतोले दिलीपका परिवार विरुद्ध उजुरी दिएका थिए । तर, उजुरी भने अहिले प्रहरीले दर्ता गरेको छैन ।

दिएको उजुरी अनुसार घटनाको अनुसन्धान गरिरहेको र सत्य प्रमाणित भए मात्र उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउने इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थबहादुर कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दिलीपका परिवार विरुद्ध उजुरी परेको छ । तर दर्ता भएको छैन । अनुसन्धान मात्र उनीहरुको संलग्नता प्रमाणित भए मात्र दर्ता गर्छौं । अहिले अनुसन्धान गर्दैछौं ।’ तर, उजुरी परेपछि प्रहरीले दिलीपका बुबा रामजीवनलाई इलाकामा सोही घटना विषयमा सोधपुछ र छलफलको समय लिन बोलाएका थिए ।

‘असोजको पहिलो साता छलफलकै लागि बोलाएपछि हामी विरुद्ध हत्यारा पक्षले उजुरी दिएको थहा पाएँ । प्रहरीले भन्यो फेरी बोलाउँछु भने आउनु भनेर’, दिलीपका बुबा रामजीवनले भने, ‘क्रसर घरको ओछ्यानमा आगो लगाएको र क्रसरमा चोरी गरेको भन्दै उजुरी दिएका छन् ।

जबकी हाम्रो परिवारको त्यसमा कुनै संलग्नता छैन । हामीलाई बदनाम र मेरो छोराको हत्या मुद्दालाई कमजोर पार्न खोज्दैछ’, बुबा रामजीवनले थप्नुभयो ।

भदौको अन्तिम साता क्रसर छेउमै रहेको दिलीपको खेतमा उनकी बहिनीहरु जाँदा क्रसर पुनः चलाउन ४÷५ जनाले सरसफाई गर्दै थिए । सोही विषयमा आफ्नो दाइले न्याय नपाउँदै फेरि क्रसर किन चलाउन खाजेको भन्दा त्यहाँ बसेकाहरुले गालीगलौज गरेको दिलीपकी बहिनी लक्ष्मीको आरोप छ ।

त्यसपछि दुइतर्फी भानभान भएको थियो । सोही राति क्रसरमा बस्ने घरको ओछ्यानमा आगो लागेको थियो । आगो दिलीपकै परिवारले लगाइदिएको, क्रसरको मोटर चोरी गरेको तथा आगो लगाइदिने लगायतको धम्की दिएको भन्दै क्रसर सञ्चालक विपीनका बुबाले प्रहरीमा आफुहरु विरुद्ध निवेदन दिएको लक्ष्मीले बताइन् ।

हामी खेत गएको बेला उनीहरुले क्रसर चलाउन खोजेको भनेर किन चलाउन भनेको मात्र थियौं । उनीहरु तथानाम गाली गरे । सोहिको विषयमा समान्य विवाद भयो । सोहि रात आफैले आगो लगाएर हामीलाई फँसाउन प्रहरीमा उजुरी दिएका छन् लक्ष्मीले भनिन् ‘ क्रसरमा आगो लगाउनु परेको भए दाइकै हत्याको बेला लगाइदिन्थे नि ! अहिले किन लगाउनु, चोरी कसले गर्यो हामीलाई केहि थाहा छैन । दाइको हत्या गरे । अब झुटो उजुरी दिएर हामीलाई फँसाउन र बदनाम गर्न खोज्दैछन् ।

बन्द क्रसर संचालन गर्न हत्याका मुख्य अभियुक्त विपीनका परिवारले धेरै पटक प्रयास समेत गरेका छन् । अहिले पनि क्रसरमा केही मानिसहरु बस्दै आएका छन् ।

श्रीपुर गाउँको पूर्व छउमै रहेको औरही खोलाकै किनारमा सञ्चालित चुरियामाई बालुवा प्रशोधन उद्योग दिलीपको हत्या भएदेखि नै बन्द रहेको छ । सोही क्रसरका सञ्चालक विपिन महतो लगायतले अवैध खोला उत्खनन् बन्द गराउन आएको बेला क्रसर नजिकै दिलीपलाई लिभरले कोखमा प्रहार गरी टिपरले किचेर गत वर्षको पुस २५ गते बिहान हत्या गरेका थिए ।

हत्या लगत्तै पक्राउ क्रसर सञ्चालक विपिन महतो, टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो जिल्ला अदालत धनुषाको आदेशमा पूर्वपक्षका लागि कारागारमा छन् । यस्तै २५–२५ हजार रुपैयाँ धरौटीमा अदालतको आदेशबाट छ्टेका रोशन यादव, क्रसर सञ्चालकका सहयोगी जितेन्द्र भनिने सत्यानारायण महतो र बृजमोहन भनिने शत्रुधन महतो पुनः पक्राउ परेका थिए ।

क्रसर सञ्चालक विपिनका भाई विनोद महतोलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय