हाम्रो जनकपुर /जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका शैक्षिक संस्था भोलिदेखि खोल्ने निर्णय गरिएको छ ।

जनकपुरधाम उपमहानगरको कार्यपालिका बैठकले संघीय सरकारले तोकेको मापदण्ड तथा निर्देशिकाको शर्तहरू पालना गर्ने शर्तमा ६–१२ कक्षासम्मका विद्यालयमा मंगलवारदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको उपप्रमुख रितादेवी मिश्रले जानकारी दिइन् ।

शिशु कक्षा र बाल विकासका शिक्षक–शिक्षिकाले विद्यार्थीको घरघर पुगेर ‘होम स्कूलिङ’ गराउने निर्णय गरिएको छ । उपमहानगरपालिकाको शिक्षा शाखाकी अधिकृत अञ्जु पाण्डेका अनुसार संस्थागत विद्यालय तथा सामुदायिक विद्यालयका शिक्षकहरू शिशु र बाल विकासका विद्यार्थीलाई घरमा नै पुगेर पालैपालो शिक्षण सिकाइको कामलाई सञ्चालन गर्ने भनेर निर्णय गरिएको छ ।

१–५ कक्षासम्मका विद्यार्थीको लागि पनि टोलमै पुगेर कुनै स्थान खोजेर पढाउने काम शुरू गर्ने भनेर निर्णय गरिएको छ । विभिन्न टोलमा १०–१५ जना विद्यार्थीको समूह बनाएर नजिकको सामुदायिक भवन वा अन्य कुनै स्थान खोजेर त्यहाँ शिक्षण सिकाइको काम सञ्चालन गर्ने निर्णय गरिएको पाण्डेले बताइन् । विद्यार्थीको पठनपाठन लामो समयदेखि अवरुद्ध भएको अवस्थामा सिकाइ तथा शैक्षिणस्तर वृद्धि गराउनका लागि सिकाइको वैकल्पिक विधि अपनाइएको उनले बताइन् ।

‘विद्यालयमा भौतिक दूरीलाई कायम गर्दै एउटा कक्षामा २५ जना विद्यार्थी राखेर पठनपाठन सञ्चालन गर्ने भनेर निर्णय गरिएको छ,’ उपप्रमुख मिश्रले भनिन्, ‘प्रत्येक दिन अनिवार्य विषयको ३ घण्टा मात्र पढाइ हुनेछ ।’ विद्यार्थी संख्या बढी भएको विद्यालयमा २ शिफ्ट विद्यालय सञ्चालन गर्ने समेत निर्णय भएको छ । त्यसले पनि पुगेन भने बहुकक्षा विधि अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ ।

प्रत्येक विद्यालयमा विद्यार्थी तथा शिक्षकले मास्क लगाउनुपर्ने, साबुन पानीको व्यवस्था हुनुपर्ने निर्णय समेत गरिएको छ । तोकिएको मापदण्ड पूरा नगरेर विद्यालय सञ्चालन गरेको पाइएमा कारबाही हुने निर्णय भएको उपप्रमुख मिश्रले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय