हाम्रो जनकपुर /जनकपुरधाम । केही महिनाअघि नेपालमा (Covid19) कोरोना भाइरस संक्रमणले प्रवेश गरिरहेको समयमा प्रदेश नं २ का प्रदेशसभा सदस्यहरुले संसदीय विकास कोषका रकम बढाउनुपर्ने आवाज एक स्वरमा उठाएका थिए।

निजी जग्गाको मुल्यांकन बढाउन सांसदहरुले संसदीय विकास कोषको रकमको दुरुपयोग गरेका छन् । प्रदेश २ काे अस्थायी राजधानी जनकपुरधाममै बजेटको दुरुपयोग भएको देखिएको छ।

प्रदेश सांसदहरुले आफ्नो क्षेत्रमा विकास गर्नको लागि संसदीय विकास कोष पाउँदै आएका छन् तर त्यसको सदुपयोगको ठाउँमा दुरुपयोगमै सांसद लागेको छन्।

प्रदेशसभा सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा जनतालाई अनुभूति हुनेगरी रकम उपलब्ध गराएपनि त्यस अनुरुप काम गर्न सकेका छैनन् । जसको एक उदाहरण हो जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २३ ।

वडा नं. २३ मा बजेटको दुरुपयोग भएको पाइएको छ । जनकपुरधामको ग्रामीण क्षेत्र रहेको सो वडासहित अन्य वडाहरु अहिले पनि व्यवस्थित छैन् । तर बस्ती नै नभएका खेतहरुमा पीसीसी ढलान गरिएका छन् ।

जनकपुरधामको बस स्टैण्डको उत्तर पश्चिम कुनामा केही पर लगभग २५ बिघाको खाली प्लट छ । जहाँ खेतै खेत छन् भने मानव बस्ती पनि अहिले छैनन् । सो प्लटमा विभिन्न भूमाफियाहरुको जग्गा रहेका छन् । सोही जग्गाको मूल्यांकन बढाउनका लागि बस्तीमा सडकको राम्रो प्रबन्ध नरहेपनि खाली प्लटमा १४ फिट र १२ फिटको पीसीसी सडक ढलान गरिएको छ ।

सो खाली जग्गामा पीसीसी ढलानका लागि प्रदेशसभा सदस्य परमेश्वर साहले आफ्नो संसदीय विकास कोषको रकम खर्चेका छन् । सांसद साहका नजिकका जग्गा एजेन्टहरु रहेकै कारण मानव बस्ती नरहेको खाली प्लटमा सडक ढलान गरिएको स्थानीयहरुको आरोप छ ।

प्रदेशसभा सदस्य साहले आफ्नो ३ करोडको संसदीय विकास कोषको रकमबाट ८० लाख रुपैयाँ सोही पीसीसी सडक निर्माणका लागि रकम खर्चेका छन् ।

उनले वडाबासीकै आग्रहमा पीसीसी ढलान गरेको दाबी गरे। उनले भने “त्यस ठाउँमा न मेरो आफ्नो निजी जग्गा छ, न कुनै भूमाफियासँग साँठगाँठ छ त्यहाँ सडक निर्माणका लागि वडाबासीहरुकै आग्रहमा मैले त्यहाँ संसदीय विकास कोषको रकम प्रयोग गरेँ ।”

यता जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष शत्रुधन पाण्डेले त्यहाँ पीसीसी ढलान गरिएको विषयमा आफूलाई कुनै जानकारी नगराइएको बताए । उनले भने, “मलाई जानकारी नै नगराई कुनै सांसदले त्यहाँ पीसीसी ढलान गराउँछ भने मैले के गर्ने ?”

२५ विघाभन्दा खाली रहेको सो प्लटमा कैयौँ भूमाफियाहरुको चलखेल रहेको स्थानीयहरुको भनाई छ । खाली प्लटमा केही महिना अगाडिसम्म जग्गाको मूल्य धुरकाे डेढ लाख रुपैयाँ थियो । तर टाउन प्लानिंग हिसाबले संसदीय विकास कोषको रकमबाट पीसीसी सडक निर्माण गरिएपछि त्यहाँ जग्गाको मूल्य अढाई लाख देखि चार लाखको धूरसम्म भएको छ ।

सोही प्लटमा जग्गा खरिद गरेका रञ्जय पाण्डेले ५ धूरभन्दा बढी जग्गा लिएका छन् । उनले सो खाली प्लटमा अहिले धूरको अढाई लाखमा जग्गा बिक्री भइरहेको जानकारी दिए । यस हिसाबले सो २५ विघाको खाली प्लटको मूल्यांकन सडक निर्माण भएपछि ५ करोड रुपैयाँले बृद्धि भएको छ ।

७ वटा योजनामा सांसद साहले आफ्नो संसदीय कोषको रकम खर्चेका छन् ।

उनले आफ्नो संसदीय कोषको रकमबाट जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ मा परिक्रमा सडकदेखि दूधमती नदीसम्म जाने बाटोका लागि ५० लाख, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ मा बसहिया सडकदेखि पश्चिम जाने बाटोका लागि ५० लाख, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ मै अर्को सडकका लागि ४० लाख, जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मा शिवपथदेखि उत्तर पुलसम्म र पश्चिम मोनाष्टिक विद्यालयसम्म जाने सडकका लागि ३५ लाख, जनकपुर जेसिजको भवन निर्माणका लागि ४० लाख र प्रशासनिक खर्चवापत ५ लाख रुपैयाँ खर्चेका छन् ।

सांसद साह तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय