हाम्रो जनकपुर / रौतहट । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीवार रौतहटमा पुजारी श्रीराम साहको हत्या भएकै ठाउँमा प्रहरी चौकी भवनको निर्माण शिलान्यास गरेका छन् ।

रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियामा भदौं ३ गते साँझ पुजारी साहको गोली हानी हत्या भएको थियो । सोही ठाउँमा मुख्यमन्त्री राउतले एकतल्ले प्रहरी चौकी भवनको शिलान्यास गरेका हुन् । पुजारी साहको १३ औं पुण्य तिथिको अवसरमा त्यहाँ प्रहरी चौकीको शिलान्यास गरिएको छ ।

खेसरहियामा प्रहरी चौकी नभएकै कारण सन्त जस्तो व्यक्तिको निर्ममतापुर्वक गोली हानी हत्या भएको भन्दै मुख्यमन्त्री राउतले खेसरहियासहित वरपरका क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न प्रहरी चौकी भवनको शिलान्यास गरेको बताए । उनका अनुसार प्रहरी चौकीका लागि निर्माण गरिने भवनमा लाग्ने सम्पुर्ण खर्च प्रदेश सरकार नै व्यहोर्नेछ ।

मुख्यमन्त्री राउतले प्रहरी चौकीको शिलान्यास गरेकै ठाउँमा ठुलो क्षेत्रफलमा रहेको एक पोखरीको सौन्दर्यीकरण तथा संरक्षण गर्ने समेत प्रतिद्धता जनाएका छन् ।

यसअघि प्रदेश सांसद एवं कृषि राज्य मन्त्री योगेन्द्र यादवले पुजारीको हत्या भएको ठाउँमा हनुमान मन्दिर र पुजारीको शालीक निर्माण गर्ने घोषणा यसअघि नै गरेका छन् ।

प्रहरी चौकी शिलान्यासको अवसरमा कृषि राज्य मन्त्री यादव, रौतहटका प्रदेश सांसदहरु शेख फुलबाबु, किशोरी यादव, बाबुलाल साहका साथै रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक रविराज खडका, विभिन्न नगरपालिकाका मेयर, जनता समाजवादी पार्टीका विभिन्न नेता, कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय