हाम्रो जनकपुर / रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय गरुडा स्थानीयले घेराउ गरेका छन् । गरुडाको हिरासतमा रहेका एक युवकको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएपछि उनका आफन्त र स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका हुन् ।

गरुडा प्रहरी कार्यालयको अवस्था अहिले तनावपुर्ण भएको छ । कार्यालय अगाडि ठूलो संख्यामा मानिसहरु जम्मा भइ धर्ना दिएका छन् । हिरासतमा कुटपिट गरी घाइते बनाएको पीडित परिवारले आरोप लगाएका छन् ।

गएको साउन ३१ गते राति गरुडा नगरपालिका ८ जिगडियाका १७ वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या भएको थियो । हत्याको आरोपमा पक्राउ परेका गाउँकै १९ वर्षीय विजय महराको उपचारको क्रममा वीरगन्जमा मृत्यु भएपछि स्थिती तनावपूर्ण बनेको हो ।

विजयका बुवा पनिलाल महराले प्रहरीको कुटाईबाटै छोराको मृत्यु भएको दाबी गरेका छन् ।
‘छोरालाई हिरासतमा कुटपिट गरेको छ । यो प्रहरीको ज्यादती हो,’ उनले भने, ‘कुटपिटको सत्यतथ्य छानबिन हुनु पर्छ । दोषी प्रहरीलाई कारबाही हुनु पर्छ ।’

हत्याको घट्नापछि पीडित र स्थानीयले प्रहरीको अनुसन्धानमाथि शंका गर्दै आएका छन् ।
निर्दोषलाई पक्रिने र दोषीलाई उन्मुक्ती दिने काम प्रहरीबाट भएको भन्दै पीडितका आफन्त र स्थानीयले दुई दिन अघि गरुडामा प्रहरी विरुद्ध जुलुस निकालेका थिए ।

गरुडाका डीएसपी ज्ञानकुमार महतोले विजयलाई हिरासतमा कुटपिट नगरेको बताए । ‘विजयको पिसाब र दिसामा पहिलादेखि नै समस्या रहेछ,’उनले भने,‘किड्नी समस्याकै कारण उनको मृत्यु भएको हो , कुटपिटबाट होइन ।

विजयको मृत्यु पछि गरुडास्थित प्रहरी कार्यालयमा ठूलो संख्यामा पीडितका आफन्त, महिला, स्थानीयहरु पुगेका छन् । स्थिति नियन्त्रणबाहिर जान नदिन इलाका प्रहरी र जिल्लाभरीबाट ठूलो संख्यामा प्रहरीलाई गरुडा तैनाथ पारिएको छ । बिरामी भनिएको छोरालाई गरुडास्थित अनमिनाका अस्पताल भेट्न जाँदा प्रहरीले भेट्न नदिएको भन्दै पीडित परिवार ले आक्रोश व्यक्त गरेका छन् ।

प्रहरी कार्यालय हुँदा एक पटक पनि छोरालाई भेट्न नदिएको बुवा पनिलालको गुनासो छ ।
सभार न्युज मिर्मिरे अनलाइन

https://www.facebook.com/111658616892988/posts/362221208503393/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय