हाम्रो जनकपुर / धनुषा । रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सोही ठाँउका १९ वर्षीय विजयराम चमारलाई प्रहरी हिरासत भित्रै अत्यधिक यातना दिइएको परिवारजनले आरोप लगाएको छ ।

हत्यामा आरोपमा पक्राउ परेका रौतहटका विजय रामको प्रहरीको यातना पछि उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ ।

प्रहरी हिरासत भित्र यातना दिएपछि मृतक रामलाई उपचारका लागि वीरगञ्ज पठाइएको थियो ।

भदौ ४ गतेदेखि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको रामको गए राति साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले पुुष्टि गरेका छन् । मृतकको शव हाल नेशनल मेडिकलमै रहेको प्रहरीले जनाएको छ ।

गत साउन ३१ गते निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी गाउँछेउमा शव फालिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, १९ वर्षीय अर्जुन राम, १९ वर्षीय सिकिन्द्र राम, १९ वर्षीय बिजय राम तथा शेख आजादसहित ७ जनालाई पक्राउ गरेको थियो ।

भदौ १ गते ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले सातै जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालतबाट म्याद समेत थमाएर सोही दिन सार्वजनिक गरेका थिए ।

राम पक्राउ परेपछि विजयका परिवार तथा दलित संघर्ष समिति रौतहटले चरणबद्ध रुपले गरुडा प्रहरीको बिरोधमा प्रदर्शन तथा आन्दोलन गर्दै आएका थिए । आफ्नो निर्दोष छोरालाई हत्यामा फसाउन प्रहरीले हिरासतमा यातना दिएर आरोप कबुल गराएको मृतक विजयराम चमारका बुवा पनीलाल रामको दाबी छ ।

प्रहरीले हत्याका मुख्य योजनाकारलाई छोडेको र यातनाको भरमा आरोप कबुल गराएकै कारण विजय राम यातना सहन नसकेर मृत्युु भएको उनले आरोप लगाए ।

यता चमारको मृत्युुको खबरले गरुडा क्षेत्रमा अहिले तनाव बढेको छ । गरुडामै अहिले दलित अगुवाहरु बसेर अगामी रणनीति बारे छलफल गरिरहेका छन् । छलफलपछि प्रहरी बिरुद्धको आन्दोलन अगाडी बढाउने दलित अगुवाहरुले बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग कुम्भकर्ण निन्द्रामा

पछिल्लो समय प्रदेश २ मा दलित समुदाय माथी श्रृङखलाबद्ध हत्याहिंसा जस्ता घटना भएपनि राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छैन ।

मृतक रामलाई प्रहरीले अत्यधिक यातना दिएको र प्रहरीकै यातनाका कारण उपचारका लागि अस्पताल भर्ना हुनुपरेको समाचार सञ्चार माध्यमहरु प्रकाशित प्रसारित भएपनि उनको जीवन रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले कुनै चासो नदेखाएको दलित अगुवाहरुले आरोप लगाएका छन् । दलित अगुवाहरुले आयोगले मृतक रामको यातनाको बारेमा सामाजिक सञ्जाल देखि मिडियाहरुमा समेत समाचार आएपनि आयोगले उनको जीवन रक्षाका लागि एउटा सामान्य विज्ञप्ति मार्फत अपील समेत नगरेको आरोप लगाए ।

दलित अगुवाहरुले अब आफुहरु राष्ट्रिय मानव अधिकार आयोग विरुद्ध प्रतिकारमा उत्रिने चेतावनी दिए । उनीहरुले अब प्रतिवेदन तथा रिपोर्टको लागि मात्रै फिल्डमा आए आयोगलाई प्रतिकार गर्ने चेतावनी दिएका छन् । दलित अगुवाहरूले राष्ट्रिय मानव अधिकार आयोग नागरिकको हकअधिकार संरक्षण गर्न नभई सरकारको बचाउ गर्न मात्रै तलबभत्ता खाएर बसिरहेको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय