हाम्रो जनकपुर / जनकपुरधाम । कोरोना संक्रमित जटिल बिरामीको संख्या बढ्दै गएपनि प्रदेश २ सरकारले बेलैमा आवश्यक उपकरण खरिद तथा जनशक्ति व्यवस्थापन नगर्दा बिरामीले अनाहकमा ज्यान गुमाउनु परेको छ ।

सरकारले पर्याप्त आईसीयू र भेन्टिलेटर तथा जनशक्ति व्यवस्था गर्न ध्यान नदिँदा सघन उपचार चाहिने संक्रमितको ज्यान उच्च जोखिममा परेको छ ।

केहीदिन अघि मात्र धनुषाको सहिद नगरपालिकाका र पर्साका जटिल बिरामीको भेन्टिलेटर अभावमा ज्यान गएको घटना सार्वजनिक हुँदा समेत सरकारले उपकरण र जनशक्ति व्यवस्थापन चासो नदेखाएको हो ।

प्रदेशमा भएभरका कतिपय आईसीयू र भेन्टिलेटर समेत पर्याप्त जनशक्ति नभएर पूर्ण रूपमा सञ्चालन हुन सक्ने अवस्थामा छैनन् । जनकपुरस्थित प्रादेशिक अस्पताल, वीरगन्जस्थित नारायणी अस्पताल र राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई प्रदेश सरकारले कोभिड अस्पताल बनाएको छ ।

तर यी तीनै अस्पतालमा स्वास्थ्य उपकरण र विशेषज्ञ चिकित्सक नहुँदा कोरोना संक्रमित र संक्रमण नरहेका अन्य रोगका गम्भीर बिरामी ज्यान गुमाउन बाध्य छन् । प्रदेश २ का गम्भीर बिरामी काठमाडौं, चितवन, विराटनगर र धरानमा उपचार गराउन जान्छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले आईसीयूका लागि तालिम प्राप्त जनशक्ति नभएको बताए । ‘हाम्रो यत्रो ठूलो अस्पतालमा एक जना मात्र एनेस्थेसियोलोजिस्ट छन्, भेन्टिलेटर र आईसीयूमा सघाउन छात्रवृत्ति करारमा आएका एक जना आफैं कोरोना संक्रमित भएका छन् । क्रिटिकल केयरका लागि जनशक्ति छैन,’ उनले भने ।

उनका अनुसार कोभिड–१९ का लागि नारायणी अस्पतालमा पाँच शय्याको आईसीयू र पाँचवटा भेन्टिलेटर छन् । अस्थायी कोभिड अस्पतालमा १० वटा आईसीयू शय्या र तीनवटा भेन्टिलेटर छन् । ‘स्वास्थ्य संकटकाल घोषणा नगरी नहुने अवस्था छ,’ डा. उपाध्यायले भने ।

जनकपुर प्रादेशिक अस्पतालका कोभिड–१९ संयोजक डा. जामुन सिंहले संक्रमितलाई सघन उपचार सेवा दिन झन् बढी समस्या आउने बताए । उनका अनुसार उक्त अस्पतालको जनरलतर्फका भेन्टिलेटर र आईसीयू सेवा कर्मचारी संक्रमित भएपछि प्रभावित भएको छ ।

समाजिक विकास मन्त्रालयका अनुसार कोभिड–१९ का लागि प्रदेश २ मा ४५ आईसीयू शय्या र १७ भेन्टिलेटर को व्यवस्था गरिएएको छ । बिहीबारसम्म प्रदेश २ मा ४३ जना उपचाररत छन् ।
प्रादेशिक अस्पताल जनकपुरका प्रवक्ता डा. रामदेव चौधरी उपकरण र दक्ष जनशक्तिको अभावमा जटिल बिरामीको उपचारमा समस्या रहेको बताए ।

‘कोरोना संक्रमण नरहेका जटिल बिरामीलाई इमर्जेन्सी वा वार्डमा राखेर उपचार भइरहेको छ,’ उनले भने, ‘कोरोनाका गम्भीर बिरामीलाई आईसीयूमा राखेर उपचार गर्दैछौं ।’ उनका अनुसार प्रादेशिक अस्पतालमा एउटा मात्रै भेन्टिलेटर रहे पनि हालसम्म प्रयोगमा ल्याउने खालको बिरामी आएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय