• हाम्रो जनकपुर

जनपकुरधाम, साउन २४ । गत साता आइसोलेशनबाट फर्केका एकजना युवाले आत्महत्या गरे । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. २ पुरन्दाहाका ३५ वर्षीय युवा विशेश्वर यादवले साउन १६ गते आइसोलेशबाट घर फर्केपछि आत्महत्या गरे ।

आइसोलेशनबाट फर्केपछि उनी आफ्नै घर परिवार समाजबाट तिरस्कृत भएपछि उनले आत्महत्या रोजे ।

उनमा कोरोनाको कुनै लक्षण नदेखिएपछि नेपाल सरकारको मापदण्ड अनुसार घर पठाइएको थियो तर घर जाँदा उनलाई घरभन्दा बाहिर नै राखेर पातमा खाना दिने गरिन्थ्यो र कोही उनको नजिक जान नचाहेपछि उनले अन्तमा आत्महत्या गरे ।त्यस्तै पञ्चायतको दबाब सहन नसकेर सिरहामा एकजनाले आत्महत्या गर्नु रोजेका थिए ।

गत असार ११ गते सिरहाको लहान नगरपालिका वडा नं. २४ का श्यामलाल रामको गोबिन्दपुर–झुटकी जाने बाटोको बिचमा पर्ने सरे खोला स्थित आँपको बोटमा झुण्डिएको अवस्थामा शव फेला प¥यो । कारण थियो उनले आफ्नो छोरीको विवाह तय गरेका थिए र दाईजो समेत बुझाई सकेका थिए ।

तर उनका छोरी अन्य केटासँग प्रेममा रहेकोले विवाह तय भएको र दाईजो समेत दिइसकेको कुरा सुुनेर आफ्नो प्रेमीसँग भागेका थिए ।

तर छोरी कुनै केटासँग भागेकै कारण गाउँका मुखियाहरुले श्यामलाललाई जरिवाना गरेका थिए । जरिवानामा उनलाई ६० हजार रुपैया तिर्न लगाइएको थियो ।

श्यामलालले विवाह तय गरेको पक्षबाट पहिलो छोरी भागेपनि दोस्रो छोरीसँग विवाह गर्न तयार रहेको प्रस्ताव दिएपछि श्यामलालले आफ्नो जातका अगुवाहरुलाई सो कुरा सुनाएका थिए तर अगुवाहरुले ६० हजार जरिवाना नतिरे सम्म दोस्रो छोरीको विवाह हुन नदिने अडान लिएपछि श्यामलाल बाध्य भएर आत्महत्या गरे ।

यस्ता यस्ता घटना प्रदेश २ मा बढदै गएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको अनुसार यस प्रदेशमा प्रत्येक दिन दुई जना बढी व्यक्ति विभिन्न कारणवस आत्महत्या गर्दै आएका छन् । गत आर्थिक वर्षमा मात्र यस प्रदेशमा ८ सय १३ जनाले आत्महत्या गरेको २ नम्बर प्रदेश प्रहरीका प्रमुख डिआईजी धिरज प्रताप सिंहले जानकारी दिए ।

आत्महत्या गर्नेहरुमा पनि अधिकांशले झुण्डिएर आत्महत्या गरेका छन् । यस प्रदेशमा आर्थिक वर्ष २०७६-०७७ मा ८ सय १३ जनाले आत्महत्या गरेका छन् भने त्यसमा ६ सय ९ जना झुण्डिएर आत्महत्या गरेको तथ्यांक छ ।

प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्यामा बृद्धि हुँदै गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस भन्दा पहिले आर्थिक वर्ष २०७५-०७६ मा ७ सय १७ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०७४-०७५ मा ६ सय ३६ जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेमा अधिकांश युवावर्गका छन् ।

युवाहरु शारीरिक, मानसिक, भावनात्मक रुपले परिपक्व भएपनि परिवारभित्र उनीहरुको भावनाको सम्मान नहुँदा उनीहरुले आत्महत्यासम्मको बाटो रोज्न बाध्य हुने गरेको मनोविज्ञानका जानकार एवं क्षिरेश्वरनाथ नगरपालिकाका अधिकृत उमेशलाल कर्ण बताउँछन् ।

समाज विकासको बाटोमा अगाडी बढेपनि मधेशको रहन सहन, संस्कृतिले गर्दा आजका युवाहरु आफुलाई कुनै दायराभित्र कैद गरेर राखिएको महसुस गर्ने गरेको उनले बताए ।

यसका लागि किशोरावस्थामा प्रवेश गर्नेबित्तिकै घरपरिवारका सदस्यदेखि लिएर विद्यालयका शिक्षकसम्मले उनीहरुसँग परामर्शको वातावरण निर्माण गर्नुपर्नेमा कर्णले जोड दिए ।

कर्णका अनुसार पुरुषको तुलनामा महिलाहरु बढी आत्महत्या गर्नुको प्रमुख कारण चरम उत्पीडनको सामना गर्नुपर्ने, बिहेपछि उनीहरुले राखेका ईच्छा अपेक्षाहरु पूरा नहुनुलगायतका रहेका छन् ।

महिलाहरुलाई आफन्तबाटै यौन शोषणको पिडा भोग्नु पर्ने, पतिबाटै पनि यौनदासी जस्तो व्यवहार गरिनु, विद्यालय, सार्वजनिक स्थलमा यौन शोषणका घटनाका कारणले गर्दा पनि उनीहरु आत्महत्याको बाटो अपनाउन बाध्य हुने गरेको उनले बताए ।

सार्वजनिक स्थल, घरपरिवार, विद्यालय समेतमा आफु असुरक्षित रहेको त्यसमा पनि उनीहरुलाई सम्झाउने बुझाउने कार्य कही कतैबाट नभएकाले पनि उनीहरु उक्त बाटो अपनाउने गरेको उनले बताए ।

यसका लागि घरपरिवारदेखि विद्यालयसम्मले एक जिम्मेवार अभिभावकको भूमिका खेल्नुपर्ने कर्णको सुझाव छ । पुरुषहरु लागूऔषध, उनीहरुमा हुने यौन उत्कण्ठाका कारण आत्महत्या गर्नतर्फ प्रेरित भईरहेका छन् भने बालविवाहका कारण महिलाहरु यौन शोषणमा पर्ने गरेकाले उनीहरु आत्महत्या रोज्ने गरेको उनले बताए ।

प्रदेश २ मा गत आर्थिक वर्षमा ८१३ जनाले आत्महत्या गरेका छन् भने त्यसमा सबैभन्दा बढि झुण्डिएर ६ सय ९ जना, विष खाएर १ सय ९२ जना, आगो लगाएर ८ जना, हात–हतियारबाट २ जना, हामफालेर एकजना र करेन्ट लगाएर एकजनाले आत्म हत्या गरेका छन् ।

जिल्लागत अनुसार सबैभन्दा बढी सिरहामा १४३ जनाले आत्महत्या गरेका छन् । सिरहा पछि धनुषामा १२९, बारामा १२८, सप्तरीमा ९६, पर्सामा ९५, रौतहटमा ८१, महोत्तरीमा ७६ र सर्लाहीमा ६५ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय