प्रदेश १ र प्रदेश २ को सीमा छुट्याउने कोशी नदीमा पानीको बहाव बढेको छ। पहाडमा लगातार वर्षा भइरहेपछि कोशीमा पानीको बहाव बढेको हो।

कोशीमा पानीको बहाव बढ्दै गएपछि त्यस क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। धनकुटास्थित तमोर नदी मुलघाटमा जलस्तर बढेपछि कोशीसँग जोडिएका प्रदेश २ को सप्तरी र प्रदेश १ को सुनसरीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सप्तरी र सुनसरी सीमा छुट्याउने कोशी नदीमा पानीको बहाव बढ्दै गइरहेको बताए। अपरान्ह तीन बजेपछि कोशीमा पानीको बहाव २ लाख १५ क्युसेक कटिसकेको जानकारी आफूहरूलाई प्राप्त भएको उनले जानकारी दिएका छन्।

‘धनकुटास्थित तमोर नदी मुलघाटमा पानीको बहाव उच्च भइसकेको जानकारी आएको छ, तमोर नदी नै कोशीमा मिल्ने भएकोले यहाँपनि पानीको सतह बढेको हो,’ प्रमुख जिल्ला अधिकारी आचार्यले आयोमेललाई भने।

कोशीमा पानीको बहाव ३ लाख क्युसेक कटिसकेपछि खतराको संकेत मान्ने गरिएको छ। पानीको बहाव लगातार बढ्दै गएपछि कोशी ब्यारेजको ५६ वटा ढोकामध्ये ३६ वटा खोलिएको छ।

पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले ३६ वटा ढोका खोलिसकेको प्रमुख जिल्ला अधिकारी आचार्यले जनाएका छन्। ‘नदीमा पानीको सतह बढ्दै गएपछि कन्ट्रोल रुमले ३६ वटा ढोका खोलिसकेको छ,’ उनले भने,‘अहिले नै आत्तिइहाल्नुपर्ने अवस्था छैन्, तर सतर्क भएर बस्न जरुरी देखिएको छ।’

कोशी नदीमा आउने बाढीका कारण हरेक वर्ष सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका दर्जनौं गाउँ प्रभावित हुने गरेको छ। कोशीको पानी गाउँभित्र छिरेपछि हजारौं स्थानीय बाढीको चपेटमा पर्ने गरेका छन्।

लगातारको वर्षापछि कोशीमा बाढी आउनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले नदी वरिपरी नजान सर्वसाधारणहरूलाई अपिल गरेको छ। उच्च वर्षा हुनसक्ने अनुमान गरिएपछि जिल्ला प्रशासन कार्यालयले कोशी नदीको उच्च जोखिममा रहेका गाउँमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सप्तरीका प्रहरी निरीक्षक कृष्ण प्रसाईंले बाढीका कारण आउनसक्ने चुनौतीको सामना गर्न आफूहरू तयार अवस्थामा रहेको बताए। ‘हामी तयार अवस्थामा छौं, उद्धार कार्यका लागि सबै तयारी पूरा भइसकेको छ,’ उनले भने,‘तत्काल सप्तरीभित्र कोशीको बाढी आइसकेको छैन्। सम्भावित जोखिमसँग सामना गर्न सुरक्षाकर्मी तयार छ।’

कोशीमा बाढी आउँदा हरेक वर्ष प्रायः भारदह, पोर्तहा, जमुनिया, तिलाठीलगायतका गाउँहरू जोखिममा पर्ने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय