जनकपुरधाम, १७ असार । सञ्चारकर्मीहरुको सञ्चार उपकरण जफत गर्ने प्रावधानसहितको प्रदेश २ सरकारले ल्याएको विधेयक पत्रकारहरुले जलाएका छन् ।
प्रदेश २ सरकारले ल्याएको प्रदेश सञ्चार विधेयक १३ गते शनिबार प्रदेशसभाबाट पारित भएको थियो । विधेयकको दफा ६२ र ६३ मा सञ्चारकर्मी र सञ्चारगृहको यन्त्र उपकरण जफत गर्ने व्यवस्था राखिएको छ ।
नेपालको संविधानको धारा १९ को उपधारा २ मा कुनै पनि सञ्चार उपकरण जफत नहुने प्रावधान राखिएको भए पनि प्रदेश सरकार र प्रदेशसभाले संविधान नै नपढी विधेयक ल्याएको दाबी अगुवा पत्रकार बीपी साहले गरे । उनले राणाकालिन कानुन प्रदेश सरकारले ल्याउन लागेको भन्दै कडा आलोचनासमेत गरे ।
पत्रकार साहकै नेतृत्वमा प्रदेश २ को स्थायी राजधानी जनकपुरधामको जनक चौकमा बुधबार विधेयक जलाइएको छ ।
पत्रकार साहका अनुसार विधेयकमा सञ्चार गृह वा सम्पादकलाई नभई कुनै पनि मुद्दा पत्रकारमाथि मात्रै लाग्ने छ र पत्रकारले नै दण्ड जरिवाना तिर्नु पर्ने व्यवस्थ विधेयकमा गरिएको छ ।
प्रदेश सभाबाट पारित भएको उक्त सञ्चार विधेयक पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई समाप्त पार्ने खालको रहेकोले विधेयक जलाउनु परेको उनले बताए ।

विधेयकमा दर्जनौं ठाउँमा त्रुटी रहेपनि प्रदेशसभाबाट पारित भएकाले प्रक्रियाबाटै विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी रहने पत्रकार साहले बताएका छन् ।
बुधबार जनकपुरधाममा रहेका दर्जनौं पत्रकारहरुले संयुक्त रुपमा उक्त विधेयक जलाउँदै प्रदेश सरकार विरुद्ध नारावाजी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय