जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ५ स्थित चारनाथ खोलमा अवैद्य उत्खनन् भइरहेको छ । खोलाबाट अवैध रुपमा गिटी, बालुवा, ढुङ्गा निकालिरहँदा पनि स्थानीय प्रशासन मौन देखिएको छ । यो विषयमा प्रहरी र स्थानीय प्रशासन जानकार रहे पनि वेवास्ता गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।

खोलाबाट विरेन्जय सिंह सञ्चालक रहेको ओम सत्य साई कन्सट्रक्सनले अवैद्य उत्खनन् गरिरहेको छ । पूर्वपश्चिम राजमार्गबाट करीब २ किलोमिटर उत्तरतर्फ पर्ने उक्त चारनाथ खोला नजिकै नेपाली सेनाको क्याम्प पनि बन्न लागेको छ । त्यसको लागि चारनाथ खोलामा बाँध बनाउने काम पनि चलिरहेको छ । तर यही मौका छोपेर ओम सत्य साई कन्सट्रक्सनले अवैद्य उत्खनन् गरिरहेको स्थानीयको आरोप छ ।

रिपोर्टिङ गर्न गएका पत्रकारमाथि आक्रमण प्रयास
चारनाथ खोलामा अवैद्य उत्खनन्को कार्य भइरहेको छ भन्ने सूचनाका आधारमा रिपोर्टिङ गर्न गएका स्थानीय पत्रकार मुकेश ठाकुरमाथि आक्रमणको प्रयास भएको छ । उत्खनन्कर्ताकै समूहले आफूलाई रिपोर्टिङ गर्न अवरोध गरेको र आक्रमणको प्रयास गरेको पत्रकार ठाकुरले बताए । यो विषयमा तत्काल प्रहरीलाई जानकारी गराए पनि प्रहरीले उचित कदम नचालेको पत्रकार ठाकुरले गुनासो गरे । उनले भने, ‘प्रहरीको घुमुवा टोलीलाई सुरक्षा र सहयोगको लागि फोन गरेको थिएँ । उनीहरुले अवरोध र आक्रमण प्रयास गरेको एक घण्टासम्म पनि प्रहरी सुरक्षाको लागि आएन ।’ प्रहरीले उचित सहयोग र पहल नगर्नुमा पत्रकार ठाकुरले आशंका व्यक्त गरेका छन् ।

यो घटना भएको राती नै पत्रकार ठाकुरको घरबाटै मोटरसाइकल पनि चोरी भएको छ । ज ६ प ८१८१ नम्बरको डिस्कभर मोटरसाइकल घरबाटै चोरी भएको हो । मोटरसाइकल चोरीमा अवैद्य उत्खनन्कर्ताकै सहभागिता हुनसक्ने उनले आशंका गरेका छन् । घटनाको विषयमा प्रदेश प्रहरी कार्यालय जनकपुरमा उजुरी दिइसकिएको पत्रकार ठाकुरले बताए ।

पत्रकार ठाकुर

हदैसम्मको कारबाहीको माग
प्रेस नेपाल प्रदेश समिति प्रदेश नं. २ ले पत्रकार ठाकुरमाथि भएको आक्रमण प्रयास, रिपोर्टिङमा अवरोध र मोटरसाइकल चोरीमा संलग्नको खोजी गरी हदैसम्मको कारबाहीको माग गरेको छ । बुधबार प्रदेश प्रहरी कार्यालय जनकपुरमा उजुरी दिँदै प्रेस नेपालले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप भएको र पत्रकारको जीउ, धनको सुरक्षा नभएको भन्दै उचित सुरक्षा र यस्तो कार्यमा सम्लग्नलाई कारबाहीको माग गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय