चालक क्वारेन्टाइनमा, कालोबजारी गरेपनि प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएन

सिरहा । कोरोना भाइरसको महामारीको बेला सिरहामा एम्बुलेन्सको दुरुपयोग भएको पाईएको छ ।

यात्रुलाई नक्कली बिरामी बनाएर बोकेको एउटा एम्बुलेन्सका चालकलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएपछि यो रहस्य बाहिर आएको हो ।

सिरहाको विष्णुपुरस्थित चन्दन कृषि सहकारी संस्थाको एम्बुलेन्सले लकडाउनको मौका छोपेर गोलबजारबाट एक यूवती बोकेर बारा लगेको र फेरी त्यहाँबाट अर्को यूवती ल्याएको खुलेपछि दुई चालकलाई क्वारेन्टाइनमा राखिएको हो । बाराको कलैयाबाट ल्याएको यूवती भने फरार भएकी हुन् ।

पहिचान खुल्न नसकेकी उनी किन आएकी थिइन् भन्ने कुरा खुल्न सकेका छैन् । स. १ च. ६४१ नम्बरको एम्बुलेन्स चालक तथा मालिक शिवशंकर यादव र अर्का चालक धिरेन्द्र यादवलाई क्वारेन्टाइनमा राखिएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

यात्रु ओसार्ने काम शिवशंकरले गरेका थिए । सोही कारण उनलाई गोलबाजार क्वारेन्टाइनमा राखियो । तर पछि उनले आफु बच्न पैसाको लोभ देखाएर धिरेन्द्रलाई चालक बनाए । त्यसपछि धिरेन्द्रलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरुले शुक्रबार राति एम्बुलेन्समा यूवती बोकेर बाराको कलैया पुगेका थिए । शनिवार कलैयाबाट अर्को यूवती बोकेर गोलबजार नगरपालिका ४ फर्किए । बारा कोरोना संक्रमणको हटस्पट बनेको छ । तर, त्यहाँबाट यूवती ल्याएको थाहा पाएपछि स्थानीयले प्रहरी र स्वास्थ्यकर्मीलाई खबर गरेका थिए ।

प्रहरी र स्वास्थ्यकर्मीको टोली चालक शिवशंकरको घर पुगेपछि यूवती भागिन् । पछि चालक शिवशंकरलाई प्रहरी र स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइन लगियो । उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेपनि प्रहरीले एम्बुलेन्सलाई भने नियन्त्रणमा लिएका छैनन् ।

स्रोतका अनुसार गोलबजारकी यूवतीलाई बारा पुर्याउन एम्बुलेन्स चालक शिवशंकरले २५ हजार लिएका थिए । एम्बुलेन्स सहकारीको नाममा छ । तर, सहकारीले कानुन विपरित एम्बुलेन्स बिक्री गरेका हुन् ।

लकडाउनमा फसेका व्यक्तिलाई बिरामीको बहानामा ओसारपसार गर्ने धन्दा बढेको छ । एकातर्फ एम्बुलेन्सको दुरुपयोग गर्दै गैरकानूनी तरिकाले पैसा कमाउनमा लागेका छन् भने अर्कोतर्फ कोरोना भाइरसको संक्रमणको आशंका भएको रोगीले अस्पताल वा क्वारेन्टाइनसम्म पुर्याउन एम्बुलेन्सलाई फोन गर्दा एम्बुलेन्स मान्न तयार भएका छैनन् ।

बिरामी भएको ठाउँसम्म एम्बुलेन्स पुगेपनि कोरोना सुन्ने वित्तिकै बिरामी छाडेर भाग्छन् । तर, बिरामीको नाममा यात्रुलाई गाडीमा बिरामी जस्तो सुत्न वा बन्न लगाएर ओसारपोसारको धन्दा भइरहेको छ । ( सम्भार न्युज ब्यूरो )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय