धर्वेन्द्र कुमार यादव(यदुवंशी)

सम्सी गाउँपालिका कार्यालयमा राहत माग्दै लक डाउन पीडित गरिब विपन्नहरु आज दोश्रो पटक तालाबन्दी गरे ।

तस्बीरहरु सबै : धर्मेन्द्र कुमार यादव ‘यदुवंशी’

महोत्तरी –लक डाउनको अवधि आज ४८औं दिन सम्म पुग्दा पनि सम्सी गाउँपालिकाले गरिब विपन्नलाई राहत नबाडेको भनेर गाउँपालिका कार्यालयमा स्थानीयले पुन: आज दोस्रो पटक तालाबन्दी गरेका छन् ।

प्राय जसो सबै नगरपालिका र गाउँपालिकाहरुले दोश्रो चरण राहत समेत वितरण गरिसकेको अवस्थामा सम्सी गाउँपालिकाले पहिलो चरणको राहत समेत वितरण नगरे पछि स्थानीय युवा राजेश कुमार यादवको नेतृत्वमा गएका गरीव, महिला तथा अति विपन्न परिवारहरुले आज दोश्रो पटक तालाबन्दी गरेका हुन् ।

यस अघि गत मङ्गलवार बिहानदेखि कार्यालयमा तालाबन्दी गरेका थिए । त्यतिबेला गाउँपालिका अध्यक्ष फारुख शेखले पाँच दिनको समयसीमा दिएर राहत बाड्ने बाचा गरेका थिए । तर आज सम्म पनि राहत वितरणको सुरसार नभएपछि गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको हो ।
तालाबन्दीका अगुवा राजेश यादवले आफूहरुले यस सम्बन्धमा बारम्बार सरोकारवालालाई ध्यानाकर्षण गराउँदा समेत पहल हुन नसकेपछि बाध्य भएर पुन: तालाबन्दी गर्नुपरेको बताए ।
गाउघरमा मागेर खाने गरेका पीडित एक महिला सकुन्ती देवी पासमानले भन्नुभयो, ‘हामीले बिधुवा भत्ता पाएका छैनौ र राहत समेत पाउन सकेका छैनौ। जसोतसो मागीचांगी कहिलेकाही रातिमा नुन भात र नुन रोटि खाएर दिन काट्दै छु र अब त्यो पनि पाउने स्थिती छैन ।’

गाउँपालिकामा यस्ता दैनिक ज्यालादारी मजदुरी गर्ने गरिब विपन्नहरुको अवस्था निकै दैनिय भएको छ । उनिहरु बालबच्चा, महिला सहित भोकभोकै बस्न बाध्य भएका छन् ।
वडा न .७ का प्रकाश कापरले गाउँपालिकाको प्रतिनिधिहरुको आपसमा मेलमिलाप नभएको कारण गरीवहरु राहतबाट वन्चित हुनु परेको बताए ।

त्यसैगरी विल्टु खत्वेले आफूहरुको घरमा चुल्हो बन्द भएर खान नपाएर भोकभोकै बसेको बताए ।
सीता देवि रामले दुःख व्यक्त गर्दै चुनावको समयमा घर घरमा आएर ठूल ठूला भाषण दिने नेताहरु अहिले विपत परेको समयमा हेर्न पनि नआएकोमा आक्रोस पोखिन् ।
यता तालाबन्दी खुलाउने विषयमा आफूले पहल गरिरहेको पालिकाका उपाअध्यक्ष नगिना देवी यादवले जानकारी दिईन् ।

यस सन्दर्भमा वडा नं ७ का वडा अध्यक्ष मदन रायले सर्वदलिय बैठक नबसेको कारण चामल खरीद हुन् नसकेकाले राहत वितरण नगरिएको बताए ।

गाउँपालिकाले सबै ७ वटा वडाका लागि १०/१० लाख रुपैयाँ उपलब्ध गराउँदा समेत हालसम्म राहत उपलब्ध नगराउनु पालिकाका अध्यक्ष फारुखको कमजोरी रहेको कार्यपालिका मेम्बरहरुले बताए ।
पालिकाका अध्यक्ष र प्रशासकीय अधिकृतबीच जारी विवादको कारण कर्मचारीहरु कार्यालयमा नियमित उपस्थित हुन सकेका छैनन् जसको कारण वडा नम्बर १,२, ३ र ७ मा पहिलो चरणको राहत वितरण हुन नसकेको गाउँपालिका कार्यालयका सदस्यहरुले जनाएको छ ।

अध्यक्ष द्वारा प्रशासकीय अधिकृत विरुद्ध अख्तियारमा उजुरी

सम्सी गाउँपालिकाका अध्यक्षले वैशाख १९ गते आफ्नै प्रशासकीय अधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । प्रशासकीय अधिकृतले घरायसी प्रयोजनका लागि खरिद गरेको भाँडाकुँडा, इन्टरनेटको भुक्तानी गाउँपालिकाबाट गर्नुका साथै गाडी सुविधा, होटल खर्च, फर्निचर खरिदमा अनियमितता गरेको भन्दै गाउँपालिका अध्यक्षले उजुरी दर्ता गराएको बताए ।

गाउँपालिकाका प्रशासकीय अधिकृत रामजी जोशीले कार्यालयमा आएको तीन महिनामा प्रक्रिया पूरा नगरी मनोमानी रकम भुक्तानी गर्न थालेपछि गाउँपालिका अध्यक्ष शेष फारुकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महात्तरीमा उजुरी दर्ता गराएको बताए ।
प्रशासकीय अधिकृत जोशीले सम्सी गाउँपालिकाको गाउँ सभा सम्पन्न भएपछि सार्वजनिक खरिद नियमावली २०६४ लाई बेवास्ता गरी माग फारम, खरिद आदेश, दाखिला प्रतिवेदनमा एकल दस्तखत गरी भुक्तानीका लागि दबाब दिएको गाउँपालिका अध्यक्ष फारुकले बताए । आर्थिक प्रशासन शाखाको सफ्टवेयर प्रयोग गरी आर्थिक कार्यमा लेखालाई चेकमा मात्र हस्ताक्षर गर्न लगाएर डेढ महिनाको अवधिमा अधिकृत जोशीले होटल खर्च देखाएर मात्रै ८ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

सार्वजनिक खरिद नियमावली विपरित खरिद भएको फर्निचरको बिल भुक्तानीका लागि अधिकृत जोशीले बिल पेश गरी एकल दस्तखत गरी दाखिला प्रतिवेदनको रकम फरक गरी गोश्वारा भौचर समेत आफैले उठाइ भुक्तानीका लागि जिन्सी र लेखालाई दबाब दिएकाले छानबिनको माग गर्दै अध्यक्ष फारुकले उजुरी दिएको बताए।
गाउँपालिकाको कार्यालयमा बिल पेश गरी दाखिला अनुसारका फर्निचरका समानहरुको खरिद गर्नुपर्ने आवश्यता नरहेको र वडा कार्यालयहरुमा अनुगमन गर्दा दाखिला अनुसारको फर्निचर वडा कार्यालयमा नरहेपनि भुक्तानीका लागि दबाब दिएको उजुरीमा उल्लेख छ । गाउँपालिकमा प्रशासकीय अधिकृतले गरेको मनोमानीबारे जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई जानकारी गराएपनि समस्या समधान नभएपछि अख्तियारमा उजुरी गर्नुपरेको अध्यक्ष फारुकले बताए ।
प्रक्रिया पुरा नगरी खरिद भएको फर्निचरको भुक्तानीका लागि अधिकृत जोशीले जिन्सी शाखामा तीन महिनामा तीन जना कर्मचारी फेरबदल गरेका छन् । अधिकृत जोशीले घरको भाँडाकुँडा खरिदको ९६ हजार र व्यक्तिगत प्रयोगका लागि बर्दिबासस्थित घरमा लगाएको इन्टरनेट बापतको शुल्क २६ हजार ८ सय ५८ रुपैयाँ गाउँपालिकाबाट भुक्तानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गराइएको उजुरीमा उल्लेख गरिएको छ ।
अधिकृत जोशीले फर्निचरको भुक्तानिका लागि पेश गरेको बिल भरपाइहरुको भुक्तानी कानुन संगत नहरेको भन्दै गाउँपालिका अध्यक्षले भुक्तानी रोकेका छन् । फर्निचरको भुक्तानी रोकिएपछि जोशीले कोभिड–१९ प्रयोजनमा भएको खर्चको भुक्तानी हुन दिएको छैनन् ।
गाउँपालिकाकी उपाध्यक्ष नगिना देवी र वडा अध्यक्षहरुलाई आर्थिक प्रलोभनमा पारेर अधिकृत जोशी गाउँपालिकामा अनियमित ढंगले आर्थिक कारोबार गर्न थालेपछि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्नु परेको गाउँपालिका अध्यक्ष फारुकले बताए ।
अधिकृत जोशी गाउँ सभाको निर्णय विपरित आफू र उप प्रमुखलाई गाडी सुविधा बापत रकम भुक्तानी गरेका छन् । नगरसभाले अध्यक्षलाई मासिक ४५ हजार, उपाध्यक्षलाई मासिक ४० हाजार र प्रशासकिय अधिकृतलाई मासिक ३० हजार सावारी सुविधाकालागि रकम तोकेको छ । तर, अधिकृत जोशीले आफ्नो उपाध्यक्षलाई मासिक १ लाख ५० हजारका दरले गाडी सुविधा बापत भुक्तानी गरेको उजुरीमा उल्लेख छ । उपाध्यक्षलाई १० महिनाको गाडी सुविधा र इनधन बापत १४ लाख २ हजार ५ सय ४४ भुक्तानी गरेपछि सम्सी गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतबिचको विवाद चर्केको हो ।
गाउँपालिका अध्यक्षले लगाएको आरोप गलत भएको प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले बताए ।‘उजुरीमा लगाइएको आरोप गलत हो,’ अधिकृत जोशीले भने,‘अध्यक्ष आफै नियम विपरित विभिन्न भुक्तानी लिएका छन् । हामी लिस्ट बनाउँदै छौं । केही दिनमा त्यो पनि सार्वजनिक हुन्छ ।’ गाउँपालिकामा अध्यक्ष र प्रशासकीय अधिकृतबिचको विवादले जनप्रतिनिधि र कर्मचारी गुट–उपगुटमा विभाजित भएका छन् ।

यसरी गाउँपालिकाको आन्तरिक विवादको कारण लक डाउनको लामो अवधिमा दैनिक ज्यालादारी मजदुरी गर्ने गरिब विपन्नहरु राहत पाउनबाट बञ्चित हुनु परेको अवस्था रहेको छ ।
यता राहत बाड्नको लागी खरिद गरिएको खाद्यन्न सामाग्रीहरु कुहिन थालेको छ। एक साता अघि नै राहत वितरण गर्ने भनेर आलु, प्याज सहित खरिद गरिएका विभिन्न खाद्यन्न कुहिन लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय