वीरगंज, बैशाख २३ गते । संघीय सरकारले कोरोना संक्रमण फैलन सक्ने खतराका दृष्टिले प्रदेश नम्बर २ का आठ जिल्लालाई अति जोखिमपूर्ण (रेड जोन) क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारी रुपमा अगाडि बढाएको छ।

कोरोना संक्रमणको उच्च जोखिममा रहेको यो प्रदेशको आठवटै जिल्लामा लकडाउनलाई प्रभावकारी रुपमा लागू गरी सीमा सतर्कता बढाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक तिलक सुनारले बताए।

भारतीय सीमासँग जोडिएको प्रदेश नम्बर २ का आठ जिल्लाको लम्बाइ ४२८ किलोमिटर छ। सो क्षेत्रमा ३२९ वटा चेक प्वाइन्ट खडा गरी सीमा क्षेत्रको आउजाउमा व्यापक कडाइ गरिएको छ। खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रदेश नम्बर २ प्रहरी कार्यालयले सीमानाकामा चेक प्वाइन्ट खडा गरी निगरानी बढाएको हो। लकडाउनलाई सफल पार्न प्रहरीले कडाइ गरेपछि सामाजिक दुरी कायम गर्नेमा सुधार हुँदै आएको प्रदेश नम्बर २ प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश नम्बर २ मा अहिलेसम्म कोरोना संक्रमितको संख्या १० पुगेको छ। जसमध्ये एकजना उपचारपछि घर फर्किसकेको र उनको आरडिटी परीक्षण गर्दा पुनः कोरोना पोजेटिभ देखिएको थियो। ती १० जनाको वीरगञ्जस्थित नारायणी कोभिड अस्पतालमा उपचार भइरहेको छ।

हाल प्रदेश नम्बर २ मा आइसोलेसनमा ३० र क्वारेन्टाइनमा एक हजार १५७ जना रहेको जनाइएको छ। लकडाउनको अवहेलना गरी बाहिर निस्किने ७३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने लकडाउनको पालना नगरेको ६ हजार ६७० वटा सवारी साधन नियन्त्रणमा लिएको छ। प्रदेश नम्बर २ ‘रेड जोन’मा आएपछि लकडाउनलाई पूर्णरुपमा पालना गराउन कडाइ गरिनुका साथै सीमा क्षेत्रमा समेत कडाइ गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय