जनकपुरधाम, वैशाख २२ गते ।

धनुषामा एक श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको शव चार दिनपछि फेला परेको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नम्बर-९ लालभिट्टीका २८ वर्षिय हरि चौहानले आफ्नी कान्छी सालीसँगको प्रेम सम्बन्धका कारण आफ्नो श्रीमतीको हत्या गरेका हुन् ।

चौहानले २५ वर्षिया पत्नी विणा चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीले तिम्रो अवैध सम्बन्ध मेरो बहिनीसँग छ,तिमी जहिले नि ढिलोगरि घर आउँछौ भनेर मानसिक यातना दिँदै आएकोले आवेशमा आएर हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको प्रहरीले जनाएको छ ।

चौहानले विणालाई बलो काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर उसैले लगाएको शलले घाँटी बेरेर हत्या गरि शवलाई जंगलमै गाडेको अवस्थामा प्रहरीले चार दिनपछि उत्खनन् गरेर निकालेको छ ।

बैशाख १८ गते बिहीबार साँझ करिव साढे पाँच बजेको समयमा विणालाई बलो काट्न जंगल जाउँ भन्दै त्यहाँ लगेर घाँटीमा लगाएको शलले बेरेर उसको हत्या गरि शवलाई जंगलमै गाडेको चौहानले प्रहरी समक्ष बयान दिएका छन् ।

हत्या गर्नुअघि नै चौहानले खाडल खनि तयार पारेर राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘हत्या गर्नुअघि खाडल खनेर तयार बनाएको रहेछ’,इलाका प्रहरी कार्यालय ढल्केवरका ईन्चार्ज प्रहरी निरीक्षक तिर्थ कार्कीले भने,’विणालाई जंगलमा लगेर हत्या गरि खाडलमा गाडिएछ । घटना योजनाबद्ध तरिकाले भएको देखिन्छ ।’ पेशाले गाडी चालक रहेको चौहान बैशाख १९ गते बिहान पत्नी हराएको भन्दै प्रहरी समक्ष मौखिक जानकारी गराएका थिए ।

विगत पाँच बर्षअघि विणासँग अन्तरजातिय बिबाह गरेकाले बुवाआमाले घरमा बस्न नदिएपछि ससुरालीको छेउमै आफ्नो घर बनाएर बस्दै आएका चौहानको करिव एक बर्षदेखि आफ्नो कान्छी साली गंगा लामासँग एकतर्फी प्रेम रहेकोले पत्नीको मानसिक यातना सहन नसकेर उसले विणाको हत्या गरेको देखिएको छ’,घटनास्थल पुगेर फर्किएका प्रहरी निरीक्षक कार्कीले भने,‘अन्त्यमा श्रीमानले योजनाबद्ध तरिकाले श्रीमतीको हत्या गरि आफ्नो साथी गोपाल श्रेष्ठलाई फोन गरि घटनाको सम्बन्धमा जानकारी दिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

खाडलमा पुरिएको शवलाई प्रहरी निरीक्षक कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले आईतबार साँझ उत्खनन् गरेको छ । सँडेको अवस्थामा भेटिएको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रहरी निरीक्षक कार्कीले बताए ।

हत्या अभियोगमा हरि चौहानलाई पक्राउ गरि म्याद थपका लागि जिल्ला अदालतमा पठाइएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

मृतक विणाको ४ वर्षकी एक छोरी र साढे दुई वर्षका एक छोरा छन् ।टुडेपाटि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय