हाम्रो जनकपुर डेस्क

जनकपुरधाम, वैशाख २० गते ।

भारतबाट नेपाल प्रवेश गरेका ४ जना स्वेच्छाले आइसोलेसन वार्डमा भर्ना भएका छन् ।

भारतबाट नेपाल आएका उनीहरु स्वास्थ्य परिक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका हुन् । भारतको नर्मदा बिहार मुजफ्फरपुरमा काम गरिरहेका ४ जना नेपालीलाई कामबाट निकालिएपछि उनीहरु भारतमै अलपत्र थिए ।

कामविहीन भएको ५ दिनपछि जसोतसो उनीहरु हिँडेर नेपाल भारत सिमाको चोरबाटो हुँदै जनकपुर छिरेका हुन् । नेपाली सीमामा प्रवेश गरेका चारै जना जनकपुरधामस्थित रामानन्द चोकमा प्रहरी समक्ष पुगेर आफूहरु भारतबाट आएको भन्दै स्वास्थ्य जाँचका लागि प्रहरीको सहयोगमा अस्पताल पुगेका थिए ।

धनुषाको सबैला नगरपालिका वडा नं.१३ ढोलबज्जा पर्साहीका ४२ वर्षिय रामअशिष महतो, ४० वर्षिय जवाहरलाल महतो, ३० वर्षिय जानिफ राइन र ४० वर्षिय तिरथलाल महतो कामको सिलसिलामा करिब २ महिना अगाडि भारत नर्मदा बिहार मजफ्फरपुर पुगेका थिए ।
तर केहि दिन नबित्दै विश्वमै महामारीको रुपमा फैलिएको कोराना भाइरसका कारण भारतमा लकडाउन भएपछि सबैजनाको काम बन्द भएको थियो ।

उनीहरुलाई काम गरेवापतको पारिश्रमिक दिएर साहुले कामबाट निकालिदिए । रामअशिषले भने,‘साहुले कामबाट निकालिदिएपछि बस्ने खाने कुनै ठेगान रहेन । भएको पैसाबाट करिब १ महिनासम्म खानेकुरा किनेर आफ्नो दैनिकी जसो तसो चलाए ।’ एक महिनासम्म त्यहाँ कसैले कुनै सहयोग नगरेपछि आफुहरु भारतमा यसरी मरेर बस्नु भन्दा बरु नेपालकै जेलमा बस्ने भनि सोंचेर घर आउने निर्णय गरि चारैजना घरका लागि पैदल हिँड्यौँ,उनले भने,’ ५ दिनको पैदल हिँडाइमा पनि भोक लाग्यो, साथिसँग करिब ३ सय जति भारतिय रुपैयाँ थियो त्यहि पैसाले चिउरा र चिन्नी किनेर फाँक्दै रुखको छाँयामा आराम गर्दै नेपालको महोत्तरीस्थित सिमानाका नजिक पुग्यौँ ।’

सिमानाकामा पुगेपछि पानी परिरहेको मौका छोपेर खेतबारी हुँदै आफूहरु नेपाल प्रवेश गर्न सफल भएको बताए । उनले अगाडी भने,‘हाम्रो विचार त त्यहीँको क्वारेनटाइनमा बस्ने थियो, तर मनले भन्यो गृह जिल्ला धनुषा नै जाँउ अनी करिब ४ घण्टाको हिँडाइपछि सदरमुकाम जनकपुरको रामानन्द चौक पुगे र प्रहरीलाई सबथोक जानकारी गराएँ ।’

भारतबाट नेपाल प्रवेश गरेका चारै जनालाई अहिले पिसिआर परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय