नेपाल बैशाख १९ गते : बिहीबार बिहान बाह्रखरीकर्मी केशवराज जोशीले काठमाडौंको नयाँ बानेश्वर चोकमा लकडाउनका क्रममा चलेका गाडीको तस्बिर र भिडियो लिँदै थिए । ड्युटीमा खटिएका ट्राफिक प्रहरी एक्कासी जाइलागे । उनले कसको अनुमतिमा तस्बिर लिएको भन्दै धम्क्याएनन् मात्रै जोशीको मोबाइल र सूचना विभागले जारी गरेको प्रेस पास समेत लिए ।

“किन यहाँको फोटो खिचेको ?,” उनको धम्कीपूर्ण भाषा थियो, “हाम्रो अनुमतिबिना तस्बिर खिच्न पाइँदैन ।”

सूचना विभागबाट जारी भएको प्रेस पास उनले करिब १० मिनेट आफैँसँग राखे ।

तीनदिनअघि चितवनका दुई पत्रकार विनोदबाबु रिजाल र अर्जुन अधिकारीलाई पनि तस्बिर लिएको आरोपमा दिनभर प्रहरीले नियन्त्रणमा लियो ।

“चितवनमा सयौं सर्वसाधारण रोकिएका थिए । बैंकर, विद्यालय शिक्षक, अस्पताल हिँडेका, औषधि किन्न हिँडेका, इन्टरनेट सेवा प्रदायक, अक्सिजन आपूर्तिकर्ता रोकिएका थिए । यति धेरै मान्छे रोकिएको हुँदा म पनि एकछिन रोकिन के हुन्छ र भन्ने ठानेर मैले मेरो स्कूटर साइड लगाएँ । चाबी झिकें र एकछिन यताउति गतिविधि हेरें ।

केही फोटो पनि खिचें,” बाह्रखरीमा रिजालले लेखेको ब्लगमा उल्लेख छ, “अलि पर एकजना सई (प्रहरी नायब निरीक्षक) रहेछन् । उनी आफ्नो सञ्चारसेटबाट केही बोलिरहेका थिए । फिल्डको कमाण्डर उनी रहेको ठानी म नजिक गएँ । ‘सई साब म पत्रकार हुँ, मलाई अगाडि जान दिएनन्, तपाईंले जान दिनुपर्‍यो’ उही घाँटीमा झुन्डिएको कार्ड देखाउँदै भनें । मैले चितवनका एसपी (प्रहरी उपरीक्षक) नान्तिराज गुरुङको मोबाइलमा फोन गरें । तर, उठेन । यतिबेरसम्म प्रहरीका दुई ट्रक आए । दुवै गाडीमा प्रहरी रहेछन् । म फेरि मेरो बाइक भएको ठाउँमा नै फर्किएँ । त्यहाँ भीडको नेतृत्व धिताल थर गरेका एकजना हवल्दारले गरेका रहेछन् । पछि बुझ्दा उनको पूरा नाम लुमदी धिताल रहेछ । त्यहाँ बैंकका कर्मचारी, सहकारीका कर्मचारी, विद्यालय शिक्षक अनेक अनुरोध गरिरहेका थिए ।”

रिजालका अनुसार अस्पताल जान लागेका, रोकिएकाहरुको तस्बिर लिएकै आरोपमा प्रहरीले दुर्व्यवहार गरेको थियो ।

“‘यो कसको ?’ मेरो स्कूटरको भाइजरमा झ्याम्म हानेर उनले आफ्नो गुण्डाशैली देखाए । मैले फेरि उसैगरी ‘स्कूटर मेरो हो र मेरो परिचय यो हो’ भनेर कार्ड देखाएँ । उनले मेरो कार्ड झट्कारेर ‘यस्ता जाबो कार्ड सबैले बनाउँछ, मिडिया भनेर हुँदैन, यो गाडीको पास खै ?’ भनेर फेरि स्कूटरको भाइजरमा हात बजारे,” रिजालले भनेका छन्, “ओइ, यसको चाबी खोस्’, पत्रकार भन्या’छ, जाबो कार्ड भिरेको छ, फोटो खिच्या’छ भन्दै प्रहरीले धम्क्याए ।”

पुस महिनाको जाडोमा आफूहरुको बक्यौता नदिएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका उखु किसानको तस्बिर आफूहरुलाई नसोधी खिचेको भन्दै एकजना प्रहरी हवल्दारले बाह्रखरीकर्मी हरिश क्षेत्रीमाथि जाइलागेका थिए ।
“पत्रकार हुँ भन्दैमा तस्बिर खिच्न पाइन्छ ?,” उनको प्रश्न थियो, “हाम्रो अनुमति लिनुपर्दैन ?”

साग खेलकूदको बेलामा नागरिक दैनिकका पत्रकार सुमन चापागाइँलाई तस्बिर खिचेकै आरोपमा प्रहरीले नियन्त्रणमा लिएर मरणासन्न हुनेगरी कुटपिट गर्‍यो ।

लाइनमा बसेका व्यक्तिको तस्बिर लिएको आरोपमा उनीमाथि कुटपिट भएको थियो । प्रहरीको कुटाइबाट घाइते भएका चापागाइँलाई केहीदिन अस्पताल राखिएको थियो ।

सार्वजनिकस्थलमा तस्बिर लिनेप्रति प्रहरी किन यतिधेरै असहिष्णु भइरहेको होला ?

फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल भन्छन्, “माथिदेखि नै नियन्त्रणको सोचहरु विस्तार हुँदा अहिले प्रहरीसम्म पुगेको हो । पत्रकारलाई रोक्नुपर्छ भन्ने अवस्थासम्म पुगेको हो । राज्य संरचना नै स्वतन्त्र प्रेसप्रति अनुदार भएको यो उदाहरण हो ।”

दाहालले नयाँ नयाँ ऐन कानुन नियन्त्रणमुखी आइरहेकाले पनि अहिले पत्रकारलाई समस्या परेको बताए ।

“स्वतन्त्रता खुम्च्याउनुपर्छ भन्ने सन्देश तलैसम्म गयो । यसको मूल कारण राजनीतिक नेतृत्व र नयाँ आइरहेका ऐन कानुनका कारणले सांस्कृतिक माहौल यस्तो भएको हो । कानुन नियन्त्रण गर्ने खालको आइरहेका छन् । त्यसको असर अहिले तलैसम्म पर्दै गएको छ ।”

प्रहरी डीआईजी विश्वराज पोखरेलले पनि सार्वजनिक स्थलमा तस्बिर लिन नपाइने भन्ने नियम नरहेको उल्लेख गर्दै गल्ती गर्ने प्रहरीलाई कारवाही गरिने प्रतिबद्धता जनाए ।

ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले अहिले कुनै पनि सार्वजनिक स्थलको तस्बिर तथा भिडियो लिँदा अनुमति लिनुनपर्ने भए पनि प्रहरीभित्र केही व्यक्तिका कारण सिंगो संस्था बदनाम हुनुपरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय