जनकपुरधाम (धनुषा)

विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड(१९)को नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनमा सामाजिक दूरी कायम गरी बाली भित्र्याउन किसानसँग प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले आग्रह गरेका छन्।

सप्तरीको विभिन्न गाउँको गहुँ खेतमा पुगेर मन्त्री साहले यस्तो आग्रह गरेका हुन्। सप्तरीको छिनमस्तास्थित खेतमा पुग्दा किसानहरू गहुँ काट्न व्यस्त थिए। सोही बेला केही किसानले मास्क लगाएका थिए भने केही लगाएका थिएनन्। उनीहरूसँग मन्त्री साहले मास्क लगाएर सामाजिक दूरी कायम राखी गहुँ भित्र्याउन आग्रह गरे।

प्रदेश २ लाई कृषिको हब मानिन्छ। यहाँका करिब ९० प्रतिशत जनता कृषिमा निर्भर छन्। अहिले गहुँ, तेलहन र दलहन बाली पाकिसकेको छ। तर, कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन सरकारले गरेको लकडाउनको १४ दिन बितेको छ। लकडाउनमा घरमै बस्न सरकारले जनतासँग अपिल गरेपछि किसान समस्यामा परेका छन्।

कतिपय किसान प्रहरीले कुट्ने डरले खेत जाने गरेका छैनन्। सोही कारण मन्त्री साहले बाली भित्र्याउन किसानहरूसँग तीन दिन अगाडि फेसबुकमार्फत् आह्वान गरेका थिए। सोमबार सप्तरीको विभिन्न ठाउँका किसानलाई भेटेरै उनले बाली भित्र्याउन पाइने प्रस्ट पारेका हुन्।

मन्त्री साह गृहजिल्ला सप्तरीको महदेवा, तिलाठी कोइलाडीसहितका ठाउँका किसानको खेतमै पुगेर मास्क लगाउनुका साथै तीन फिटको दूरी कायम राखी बाली भित्र्याउन आग्रह गरे। खेतमै पुगेका मन्त्री साहलाई किसानले धन्यवाद दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय