धनुषा,
जनकपुरधाम । प्रदेशसभा गठन भएको अढाई वर्षपछि प्रदेश २ ले स्थायी राजधानी र नाम पाउने निश्चित भएको छ । प्रदेशको राजधानी र नाम तयर गर्न प्रदेश २ का सांसदहरुविच दलिय सहमति हुन नसकेपछि अन्ततः लोकतान्त्रिक पद्धति अपनाउँदै मतदान प्रक्रियामा जाने भएका छन् । लोकतान्त्रिक पद्धतिबाट प्रदेशको नाम र राजधानीका लागि आज बिहान ११ बजे मतदान हुने भएको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकबाट मंगलबार बिहान मतदान प्रक्रियामा जाने निर्णय भएको हो । भदौ ५ गते नै दर्ता भएको स्थायी राजधानी तथा नामाकरण सम्बन्धी प्रस्ताव राजनीतिक सहमति नमिल्दा लामो समयसम्म ओझेलमा परेको थियो ।
प्रदेशसभामा राजधानीको लागि पाँचवटा तथा नामको लागि चार वटा प्रस्ताव दर्ता भएको छ । ती मध्ये दलीय आधारमा स्थायी राजधानीका लागि आएका विभिन्न तीन प्रस्तावलाई समायोजना गरी एउटै बनाइएको छ ।

उक्त प्रस्तावमा जनकपुरलाई स्थायी राजधानी बनाउने भनिएको छ । यता, बारा र पर्साका केही सांसदहरुले वीरगंजलाई स्थायी राजधानी तोक्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।
मंगलबार जनकपुर र वीरगंजको नाउँमा मतदान हुनेछन् । तर, करिब सबै राजनीतिक दलले जनकपुरलाई नै राजधानी तोक्न सहमति जनाइसकेकाले जनकपुर नै राजधानी घोषणा हुने सम्भावना प्रवल देखिन्छ ।
नामको सन्दर्भमा सत्तापक्ष समाजवादी पार्टी र राजपाले संयुक्त रुपमा मधेश, नेकपाले जानकी तथा कांग्रेसले मिथिलाभोजपुराको नाम प्रस्ताव गरेका छन् । कांग्रेसकै अर्को एक पक्षले मध्यमधेशको प्रस्ताव दर्ता गराएको छ । नामको सम्बन्धमा राजनीतिक सहमति कायम हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय