नेकपाको केन्द्रीय सचिवालयले प्रदेश २ का अध्यक्ष प्रभु साहमाथि गम्भीर अनुशासन उल्लंघन गरेको अभियोगमा स्पष्टीकरण सोधेको छ । साहले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध सामाजिक सञ्जालमार्फत अनुचित र आधारहीन आरोप लगाएको भन्दै सचिवालयका तर्फबाट महासचिव विष्णु पौडेलले स्पष्टीकरण सोधेका हुन् ।

‘तपाईंले पार्टीका वरिष्ठ नेता कमरेड माधवकुमार नेपालका विरुद्धमा सामाजिक सञ्जालमार्फत अनुचित र आधारहिन आरोप लगाउनुको कारण के हो ? तपाईंलाई पार्टीले किन कारबाही नगर्ने ? केन्द्रीय सचिवालयको निर्णयअनुसार तपाईंलाई स्पष्टीकरण सोधिएको छ,’ पौडेलको स्पष्टीकरण पत्रमा भनिएको छ । साहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाललाई उन्मुक्ति दिन खोजेको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका थिए । त्यही विषयमा सचिवालयले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

‘कार्यकारी सर्वाधिकार प्रधानमन्त्रीमा निहित रहेको प्रधानमन्त्रीय शासन प्रणालीमा सही वा गलत जुनसुकै कार्यको जिम्मेवारी स्वयं प्रधानमन्त्रीमा हुने कुरा स्पष्ट छ । तर, ललितानिवास प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रधानमन्त्री निर्दोष भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय हास्यास्पद छ । प्रस्तावक मात्र दोषी र निर्णयकर्ता निर्दोष यो कहाँको न्याय हो ? यदि संविधान र कानुन यसको बाधक हो भने यस्तो व्यवस्था हामीलाई चाहिँदैन,’ साहले सामाजिक सञ्जालमा लेखेका थिए ।

#प्रभु साह

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय