जनकपुरधाम, फागुन ३

प्रदेश २ का समाजिक विकास मन्त्रीलाई कालोमोसो दल्न पुगेका राजपाका १० कार्यकर्ता पक्राउ परेको ४ घण्टापछि रिहा भएका छन्।

शनिबार बिहान जनकपुरको जानकी हेल्थकेयरको अगाडिबाट पक्राउ परेका राजपाका १० कार्यकर्ता दिउँसो ३ बजे छुटेका हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले पक्राउ परेका १० जानलाई नै रिहा गरिएको बताए।

जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटलमा निःशुल्क खोप र गर्भवती चेकजाँच कार्यक्रमको उद्घाटन गर्न पुगेका प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई आफ्नै पार्टीका युवा कार्यकर्ताहरुले कालोमोसो दल्ने तयारी गरेका थिए। हस्पिटलको प्रवेशद्वारमै नाराबाजी गर्दै मन्त्रीलाई कालोमोसो दल्ने तयारीका साथ बसेका उनीहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगेको थियो।

उनीहरुलाई पक्राउ गरेपछि मन्त्री साहलाई प्रहरीले कडा सुरक्षाका साथ गन्तव्य स्थलमा पुर्याएका थिए।

शुक्रबार मन्त्री साहलाई भेट्न मन्त्रालयमै पुगेका राजापका धनुषा जिल्लाका अध्यक्ष मण्डलका संयोजक ज्ञानेन्द्र झाले मन्त्री र मन्त्रालयका काम कारबाहीबारे असन्तुष्टि पोखेका थिए। मन्त्रालयमै आएर आफ्नो आलोचना गरेपछि मन्त्री साहले झालाई मेरो आलोचना गर्ने ‘तपाईको के औकात’ भनि थर्काएका थिए।

मन्त्रीले थर्काएर पठाएपछि युवा नेता झाले समाजिक सञ्जालमा हिम्मत भए जनकपुरको कुनै कार्यक्रममा गएर हेर्न चुनौती दिएका थिए। उनले मन्त्रीलाई सार्वजनिक कार्यक्रममा पुगे कालोमोसो दल्ने चेतावनी समेत दिएका थिए।

तर, मन्त्री साह शनिबार बिहानै जनकपुरकै एक कार्यक्रममा पुगेपछि नेता झा समर्थित राजपाका नेता युवा कार्यकर्ताहरु कार्यक्रम स्थलमै कालोमोसो बोकेर पुगेका थिए। प्रहरीले उनीहरुलाई कालोमोसो दल्नुअघि नै नियन्त्रणमा लिएका थिए। त्यसक्रममा केही युवाहरुले मन्त्री साहलाई कालो झण्डा देखाएका थिए ।
लेखक शैलेन्द्र महतो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय