जनकपुरधाम । चुरे बचाउ अभियन्ताहरूमाथि मंगलवार जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रहरीले हस्तक्षेप गरेको छ । मुख्यमन्त्री कार्यालय घेराउ गर्न जाने क्रममा अभियन्ता र प्रहरीबीच सामान्य झडप भएको हो।

पूर्व निर्धारित आन्दोलनका कार्यक्रम अनुसार चुरे बचाउ संघर्ष समितिको आयोजनामा अभियन्ताहरूले मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका थिए । तर प्रहरीले निषेधित क्षेत्र रहेको भन्दै करिब २०-२५ मिटर परै उनीहरूलाई रोकेको थियो।

उनीहरूले शान्तिपूर्ण आन्दोलन गर्न लागेको भन्दै अगाडि बढ्न खोज्दा सुरक्षाकर्मीहरूले हस्तक्षेप गरेका थिए । प्रहरीको हस्तक्षेपले केही अभियन्तालाई चोटपटक समेत लागेको छ । प्रहरीले शान्तिपूर्ण आन्दोलनमा अवरोध गरेको भन्दै संघर्ष समितिका संयोजक सुनिल कुमार यादवले आपत्ति जनाए । मुख्यमन्त्री कार्यालय अगाडि पुग्न नदिएपछि करिब २०-२५ मिटर वरै उनीहरूले मुख्यमन्त्री विरुद्ध नाराबाजी गरे।

भ्रष्ट मन्त्री राजिनामा देउ, चुरे माफियालाई कारवाही गर, अवैध रुपमा खोला उत्खनन् गर्न पाइँदैन, महोत्तरीको वन कार्यालय प्रमूखलाई कारवाही गर जस्ता नारा अभियन्ताहरूले लगाएका थिए । संघर्ष समितिका संयोजक यादवले चुरे जोगाउन पटक पटक सरकारलाई पत्राचार गरेपनि वेवास्ता गरेकोे गुनासो गरे। उनले संघीय र प्रदेश सरकारले चुरे संरक्षण गर्न चासो नदेखाएको आरोप लगाए ।

उनले महोत्तरीका वन कार्यालयका प्रमुख हेमन्त साह अवैध रुपमा बन फडानी गरेकाले मुद्दा चलाउन माग समेत गरे। वन प्रमुख साहले महोतरीको रम्तेल डाडा सामुदायिक वनको अनाधिकृत रुपमा तस्करसंग मिलेर चार सयभन्दा बढी रुख कटान गरेको संघर्ष समितिका संयोजक यादवको आरोप छ । संघर्ष समितिले क्रसर माफियाले हत्या गरेका मिथिला नगरपालिकाका ओम प्रकाश भनिने दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गर्नुपर्ने, प्रदेश २ सरकारले अनुमति दिएका क्रसर उद्योगमा छानबिन गरी मापदण्ड विपरीतलाई तत्काल बन्द गर्न‘पर्ने र सिरहामा सञ्चालित मारुती सिमेन्टले कानुन विपरीत अतिक्रमण गरेकोे वनको जग्गा फिर्ता हुनुपर्ने माग राखेर आन्दोलन सुरु गरेकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय