राैतहट । नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले एक वक्तव्य जारी गर्दै मुलुकमा प्राप्त उपलब्धिहरुको रक्षा गर्न र स्थायित्वका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको संस्थापन पक्षलाई साथ दिन आह्वान गरेका हुन् । विगतमा आन्दोलन र युद्धका लागि पार्टी बनाउने र फोड्ने काम गरेको प्रचण्ड शान्ति प्रक्रिया पश्चात कुर्शीमै सबै क्रान्ति देख्ने महारोगले ग्रसित भएको नेता साहको ठहर छ । प्रचण्डको सत्ता लोभको परिणामस्वरुप आज कम्युनिष्ट आन्दोलन धारासाही भएको तथा सिङ्गो मुलुक नै अस्तव्यवस्त एवम् अन्योलग्रस्त स्थितिमा पुगेको उनको वक्तव्यमा उल्लेख छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल देशलाई बर्बाद गर्न उद्धत रहेकोले आफुले केपी शर्मा ओलीलाई साथ दिएको बताएका छन् ।

असफल भईसकेको दुई अध्यक्ष प्रणाली पुनः प्रचण्ड र माधव नेपालले अंगिकार गरेर कम्युनिष्ट आन्दोलनलाई धरासाही बनाउने उनको निष्कर्ष छ । ज्ञानेन्द्रको निरंकुशता विरुद्ध लड्नुको सट्टा राजालाई दाम चढाएको, दुई क्षेत्रबाट हारेर प्रधानमन्त्री भएको, महाधिवेशनबाट पराजित भएर अध्यक्ष बन्न नसकेको पदको लोभी माधव नेपाललाई अध्यक्ष बनाइनु देशको जनादेश विपरीत भएको र समग्र कम्यूनिष्ट आन्दोलनलाई लज्जित भएको वक्तव्यमा भनिएको छ ।

“मार्क्सवादी मान्यता र लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत नेकपामा निर्माण भएको दुई अध्यक्षीय प्रणाली व्यवहारत: समेत असफल भैसकेको स्थितिमा केवल आफ्नो पद र कुरीति मोहको लागि पार्टीभित्र निरन्तर जालझेल, धोकाधडी एवम् अराजकता मचाउदै पछिल्लो समय प्रचण्ड-नेपाल समुहले पुन: एक पद दुई व्यक्तिको अव्यवहारिक, अवस्तुवादी एवम् अवैज्ञानिक सिद्धान्तमार्फत केही असक्षम, अवसरवादी र असफल प्रमाणित भैसकेको नेताहरुको झुण्डको सहाराले देशमा स्थिरता, सुशासन र विकासको परिकल्पना गर्नु गोरुले दुध दिन्छ भन्ने कुरामाथि विश्वास गर्नु बराबर हो ।” नेता साहको वक्तव्यमा भनिएको छ ।

“हिजोको दिनमा आन्दोलन र युद्धका लागि पार्टी बनाउने र फोड्ने प्रचण्ड शान्ति प्रक्रिया पश्चात केवल कुर्शीमै सबै क्रान्ति देख्ने महारोगले ग्रसित हुनुभएको छ । जसको परिणामले आज कम्युनिष्ट आन्दोलन मात्र धारासाही भएको छैन, अपितु सिङ्गो मुलुक नै अस्तव्यवस्त एवम् अन्योलग्रस्त स्थितिमा छ ।” वक्तव्यमा उल्लेख छ, “ज्ञानेन्द्र साहको निरकुंश शाही सत्ताविरुद्ध निर्णायक लडाईको आन्दोलनलाई सफल बनाउनुको सट्टा दाम चढाएर लम्पसार परेको, आन्दोलन र पार्टीको शाख नै सिध्याउने, पदमा हुँदा सिङ्गो पार्टीलाई हराएर राजिनामा दिन पुगेको माधव नेपाल आफैले छानेको २-२ ओटा क्षेत्रबाट पराजित भएर पनि प्रधानमन्त्री र पार्टी महाधिवेशनबाट पराजित भएर पनि अध्यक्ष बन्ने अनैतिक लालसा देशको जनादेश एवम् पार्टीको पङ्क्तिको विपरित तथा सिङ्गो कम्युनिष्ट आन्दोलनको लागि लज्जाको विषय हो ।”

“यसरी कम्युनिष्ट आन्दोलनलाई धरासाही गर्ने, पार्टी एकताको काममा निरन्तर अनावश्यक बाधा एवम् विवाद सृजना गर्ने, सरकारको काम कारवाहीलाई सफल गर्नुको सट्टा आफ्नै पार्टी नेतृत्वको सरकारमाथि असार महिनामा अलग प्रयोजनको लागि संसद सदस्यहरुले गरेको हस्ताक्षर किर्ते एवम् दुरुपयोग गर्दै पार्टी कमिटी र संसदीय दलमा कुनै जानकारी तथा छलफल विना नै आफ्नै पार्टीको प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने गलत हर्कतले गर्दा आजको यो परिस्थिति निर्माण भएको विषय जगजाहेर नै छ । देश र जनताको लागि केहि सिन्को समेत नभाच्ने तर आफ्नो कुर्सीको लागि सडकमा सुत्न समेत तयार हुने व्यक्तिहरुबाट मुलुकमा स्थायित्व, सुशासन, समृद्धि र विकासको लक्ष्य कदापी पुरा हुन सक्दैन भन्ने विषय आम नेपाली जनताले स्पष्ट रुपमा बुझ्न जरुरी छ ।” उनको वक्तव्यमा थप भनिएको छ ।

“तसर्थ, मुख्यत २ नम्बर प्रदेशलगायत देशभरका सम्पूर्ण न्यायप्रेमी पक्षधर, नेता-कार्यकर्ता, शुभेच्छुक एवम् शुभचिन्तकहरुमा यस आन्दोलनमा गोलबन्द भई क. केपी शर्मा ओली नेतृत्वको सरकारको जनपक्षिय कामकारवाहीहरुलाई सफलतापूर्वक कार्यान्वयन गर्न सहयोग गर्न सम्पूर्ण देशवासीमा हार्दिक अनुरोध समेत गर्दछु ।” उनको आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय