जनकपुरधाम । प्रदेश नम्बर २ रौतहटका दलित युवक २० वर्षीय विजय रामको हत्या प्रकरणमा निलम्बनमा परेका प्रहरी निरीक्षकसहित ३ जना प्रहरी फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले आरोपित प्रहरी निरीक्षक नविनकुमार सिंहसहित तीन प्रहरीविरूद्ध पक्राउ पुर्जी जारी गरेपछि उनीहरू फरार भएका हुन्।

गत साउन ३१ गते राति गरुडा नगरपालिका– ८ जिगडियाका २० वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या भएपछि सो घटनामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले १९ वर्षीय विजय रामलाई पक्राउ गरेको थियो।

हिरासतमा रहेका विजयलाई प्रहरीले चरम यातना दिएको पारिवारिक स्रोत बताएको थियो।यातनाकै कारण गम्भीर भई उपचारका लागि नेसनल मेडिकल कलेज वीरगञ्जमा भर्ना भएका विजयको गत भदौ १० गते उपचारको क्रममा मृत्यु भएको थियो।

प्रहरीकै यातनाका कारण उनको मृत्यु भएको आरोप लगाउँदै घटनाको छानबिन माग गर्दै दलित अगुवाले चरणबद्ध आन्दोलन गरेपछि ड्युटीमा खटिएका इन्स्पेक्टर सिंहसहित प्रहरी हवाल्दार हिरोज मियाँ धुनिया र प्रहरी हवाल्दार मन्नुकुमार सिंहलाई निलम्बन गरिएको थियो।

उक्त घटनाकै कारण तत्कालीन प्रहरी उपरीक्षक रविराज खड्का प्रहरी प्रधान कार्यालयमा तानिएका थिए भने गरुडाका प्रहरी नायब उपरीक्षक डिएसपी ज्ञानकुमार महतोलाई प्रदेश प्रहरी कार्यालय तानिएको थियो।

प्रहरी निरीक्षकसहित तीनै जना प्रहरी सम्पर्कमा नआएपछि मंसिर १७ गते उनीहरूको स्थायी ठेगानामा पक्राउ पुर्जी टाँस गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आरोपित इन्सपेक्टर सिंहसहित तीनै जना प्रहरीमाथि प्रहरी नियमावली २०७१ को (नियम ११५) देहाय ४ बमोजिम थप अनुसन्धान तथा जाँचबुझ नहुन्जेल सम्मका लागि निलम्बन गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय