जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा रहेको सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । सर्पको टोकाइबाट कतिपयको ज्यान गइरहेको बेलामा महेन्द्रनगरमा २२ शय्याको निःशुल्क सर्पदंश उपचार केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको छ ।

सर्प दंश उपचार केन्द्रको भवन निर्माण संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) ले गरेको छ भने क्षिरेश्वरनाथ नगरपालिकाले उपकरण तथा सञ्चालनको व्यवस्थापन गरेको नगरप्रमुख योगेन्द्र पजियारले जानकारी दिए ।

युएनडीपीको १ करोड २० लाख लगानीमा भवनको निर्माण भएको छ भने उपकरण, शय्यासहितका अन्य व्यवस्थापनमा नगरपालिकाको १ करोड गरेर २ करोड २० लाखको लागतमा सर्पदंश उपचार केन्द्रको निर्माण भएको छ ।

निःशुल्क रुपमा सर्प दंशको उपचार गर्ने नगर प्रमुख योगेन्द्र पंजियारले बताए । साथै सर्पदंशको उपचार नेपाली सेनाको श्रीनाथ गणले खटाएको चिकित्सकसहितको प्राविधिक टोलीले गर्ने भएको छ ।

सर्प दंश उपचार केन्द्रको उद्घाटन गर्दै प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले सर्प दंश उपचार केन्द्रले यस क्षेत्रका जनतालाई अनिकाल मृत्यु हुनबाट जोगाउनका लागि प्रभावकारी उपचार गर्ने विश्वास व्यक्त गरे ।

उनले प्रदेश नंं २ विषालु सर्प बस्ने प्रदेश भएका कारणले प्रदेशमा नै एन्टिभेनम खोपको उत्पादनका लागि प्रदेश सरकार अगाडि बढेको बताए । सर्प दंश उपचार केन्द्रको सञ्चालन, सरसफाइ तथा व्यवस्थापनमा नगरपालिकाले ध्यान दिने मुख्यमन्त्री राउतको भनाइ छ ।

कार्यक्रममा बोल्दै क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पंजियारले सर्प दंश उपचार केन्द्रको सञ्चालनका लागि तत्काल १५ लाख तथा वार्षिक रुपमा १० लाख रकम नगरपालिकाले प्रदान गर्ने जानकारी दिए ।

सर्प दंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष लक्ष्मण महतोको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूले सम्बोधन गरेका थिए ।

खास गरेर सर्प दंश उपचार केन्द्र धनुषाको महेन्द्रनगरमा सञ्चालनमा आएपछि धनुषा, महोत्तरी तथा सिराहा जिल्लाका अतिरिक्त सीमावर्ती भारतका जनताले पनि निःशुल्क उपचार पाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय